बेनी, माघ ४ :

म्याग्दीको सदरमुकाम बेनी हुँदै बग्ने कालीगण्डकी नदीमा जलयात्राका लागि र्‍याफ्‌टिङ सञ्चालन गरिएको छ । 

बेनीमा जारी आठौँ म्याग्दी महोत्सवमा आउने आन्तरिक पर्यटकहरूलाई लक्षित गरेर बुधबारदेखि बेनीको जलेश्वरदेखि खुलामञ्च नजिकको दोभानसम्म छोटो दूरीको र्‍याफ्‌टिङ सञ्चालन गरिएको हो । 

नेपाल रिभर एक्सपोलर प्रालिसँगको सहकार्यमा जलयात्राका लागि र्‍याफ्‌टिङ सञ्चालन गरिएको कालीपुलमा रहेको गण्डकी होटलका सञ्चालक गम पुनले बताए । 

पुनले हरेक हिउँदयाममा कालीगण्डकी नदीमा नियमित र्‍याफ्‌टिङ सञ्चालन गर्दै आएका छन । “महोत्सवमा आउने दर्शक र पर्यटकहरूलाई थप मनोरञ्जनका लागि जलयात्रा सुरु गरिएको र छोटो दूरीमा न्यूनतम शुल्क लिएर र्‍याफ्‌टिङ सेवा प्रवाह गरेका उनले बताए ।

तत्कालका लागि दुईवटा आठ- आठजना यात्रु क्षमताका बोट सञ्चालन गरिएका छन् । गलेश्वर- बेनीलाई प्राथमिकता दिइएको भए पनि यात्रु र पर्यटकको चाहनाबमोजिम बेनी हुँदै मालढुङ्गाबाट नयाँपुल भएर मिर्मीसम्म पनि जलयात्रा गराउन सकिने जनाइएको छ । 

बेनीस्थित जलेश्वरदेखि म्याग्दी र कालीगण्डकी नदीको दोभानसम्म प्रतिव्यक्ति आठ सय र बगरफाँटबाट दोभानसम्म छ सय शुल्कमा र्‍याफ्‌टिङ गर्न सकिने जनाइएको छ ।