दमौली, माघ ४ :

तनहुँमा चार सय ५४ जना एचआइभी एड्सबाट सङ्क्रमित छन् । 

स्वास्थ्य कार्यालयका अनुसार सङ्क्रमितमध्ये तनहुँ गण्डकी प्रदेशमै तेस्रो स्थानमा छ । 

स्वास्थ्य कार्यालय प्रमुख शङ्करबाबु अधिकारीका अनुसार गण्डकी प्रदेशमा दुई हजार नौ सय ६८ एचआइभी सङ्क्रमित हुँदा कास्कीमा सात सय र स्याङ्जामा चार सय ८१ सङ्क्रमित छन् । तेस्रोमा तनहुँ रहेको छ । जिल्लामा सङ्क्रमितमध्ये दुई सय ६२ जनाले दमौली अस्पतालबाट एआरटी औषधि सेवन गर्दै आएको स्वास्थ्य कार्यालय प्रमुख अधिकारीले जानकारी दिए। 

अन्य जिल्ला घर भएका ३२ जनाले पनि दमौली अस्पतालबाट एआरटी औषधि सेवन गरिरहेको उनले बताए ।  

सामाजिक लाञ्छना र तिरस्कारको भयका कारण कतिपय सङ्क्रमित अझै खुल्न सकेका छैनन् । कतिपयले  दमौली अस्पतालमा नआई अन्यत्र गएर औषधि सेवन गर्ने गरेको अधिकारीको भनाइ छ । 

एचआइभी सङ्क्रमितको हकहितका लागि काम गर्दै आएको तनहुँ सहयोगी संस्थाका केशु गुरुङले समाजको डरका कारण अझै पनि सङ्क्रमित खुल्न डराउने गरेको बताए ।

कतिपय रोग लुकाएर बस्न बाध्य भएकाले संस्थाले यस्तालाई सहजिकरणको काम गरिरहेको उनले जानकारी दिए ।