
तोकिएका सर्तको पालना गर्दै कानुनी परिधिभित्र रहेर व्यापार व्यवसाय गर्ने अधिकार सबैलाई रहेको सरोकारवाला निकायहरुले बताएका छन् ।
काठमाडौंमा शनिबार नेपाल आहारपूरक सौन्दर्यवर्धक संघ नेपालले आयोजना गरेको कार्यक्रममा सरोकारवालाहरुले यस्तो बताएका हुन् । उनीहरुले कानुनभित्र रहेर गरिएका व्यापार-व्यवसायमा अवरोध गर्ने अधिकार कसैको नरहेको जिकिर गरे । कार्यक्रममा अध्यागमन विभागका महानिर्देशक गोविन्दप्रसाद रिजालले व्यवसायीहरुले व्यावसायिक सुरक्षा र चुनौतीका विषय के छन् भन्ने सन्दर्भमा छलफल चलाउन जरुरी रहेको बताए । छलफलले व्यवसाय गर्दाका चुनौती, व्यावसायिक सुरक्षासँग जोडिने विषयवस्तुहरु स्पष्ट हुने बताए ।
‘व्यावसायिक सुरक्षा र चुनौतीका विषयहरु के छन् भन्ने सन्दर्भमा यहाँहरुले एउटा राम्रो किसिमको छलफल चलाउनुस् । त्यसले पनि फाइदा नै गर्दछ । हामीले व्यवसाय गर्दाखेरिका चुनौती के-के छन् ? व्यावसायिक सुरक्षासँग जोडिने विषयवस्तुहरु के छन् ? कसरी अघि बढ्दा अझ राम्रो हुन्छ भन्नेबारेमा छलफल गर्नुस्,’ उनले भने, ‘कानुनी परिधिभित्र रहेर र तोकिएका सर्तको पालना गर्नेगरी व्यापार व्यवसाय गर्न पाउनेछ । त्यसमा कसैले पनि अवरोध गर्न हुँदैन । कहीँ कतै भइरेको छ भन्ने गुनासो छ । त्यो गुनासो पनि आगामी दिनमा सरोकारवाला निकायहरुसँग बसेर छलफल गरेर समाधान गर्न सकिन्छ ।’
कार्यक्रममा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलले नेपालमा कतै पनि दर्ता नभई र गुणस्तरबारे कहीँ पनि परीक्षण नगरी बिक्री- वितरण गर्नेहरुमाथि सरकारले कडा कारबाही गर्ने बताए । उनले विभागले उनीहरुको सामान जफत गर्नेदेखि जरिवाना तिराउनेसम्मको निर्णय लिनसक्ने बताए । उनले विधिवत् ढंगले दर्ता गरेर नेपालमा दर्ता भएको वस्तु बेचेको खण्डमा पनि कारबाही, जफत वा कुनै प्रकारका दण्ड जरिवाना गर्न नसक्ने बताए ।
‘कहीँ पनि नेपालमा दर्ता नभईकन, गुणस्तरबारे कहीँ पनि खोजी नगरीकन जति पनि वस्तुहरु नेपालमा बिक्री-वितरण भइरहेका छन्, ती वस्तुहरुको हकमा हामी एकदमै कडा ढंगले अगाडि बढ्छौँ । त्यसलाई जफत, जरिवाना गर्नेसम्मको कानुनी कारबाहीमा अगाडि जान्छौं,’ उनले भने, ‘तपाईंले विधिवत् ढंगले दर्ता गरेर नेपालमा दर्ता भएको वस्तु बेचिरहनुभएको छ भने वाणिज्य विभागले कारबाही गर्ने, जफत गर्ने वा कुनै प्रकारको दण्ड जरिवाना गर्दैनौँ ।’
कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. ईश्वर सुवेदीले मानव स्वास्थ्यसँग प्रत्यक्ष रुपमा सरोकार राख्ने वस्तु भनेको खाद्य वस्तु रहेको बताए । उनले खाद्य वस्तुमा कुनै पनि प्रकारको सम्झौता नगरिने बताए ।
उनले स्वास्थ्यमाथिको खेलबाड गर्ने अधिकार कसैलाई पनि नरहेको बताए । कुनै पनि वस्तु उत्पादन गरिसकेपछि कानुनी संरचनासँगै भौतिक संरचना र प्रविधिको प्रयोग अनिवार्य रहेकाले सरकारले सोहीअनुसार काम गरिरहेको बताए ।
‘राज्यले तीनवटा पिल्लरलाई यस सम्बन्धित रहेर फोकस गरेको छ । कानुनी संरचना, जस्तोसुकै व्यवसाय भए पनि कानुनमा रहेर काम गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘भौतिक संरचनाका कुराहरु छन् । कुनै पनि वस्तु उत्पादन गरिसकेपछि कानुनी संरचनासँगै भौतिक संरचना पनि हुनुपर्छ । प्रविधिका कुराहरु पनि छन् । सरकारले यी तीनवटै कुरामा हेरिरहेको छ ।’
कार्यक्रममा नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल कार्कीले सरकारी निकायहरुले व्यवसाय दर्ता र अनुगमनलाई सहज बनाइदिनुपर्ने बताए । व्यवसायीहरुले पनि पारदर्शी हिसाबले काम गर्नुपर्नेमा जोड दिए ।
उनले भने, ‘सरकारी निकायले दर्ता र अनुगमनलाई स्विफ्ट बनाइदिने, फास्ट बनाइदिने र आँखाले देखिने मात्रै पारदर्शी हिसाबले काम गरिदिने हो भने धेरै सस्तो त्यहीँबाट हुन्छ । औषधिको हकमा मात्रै होइन, खाद्य, तेल, निर्माण सामग्री सबैमा हो ।’
उनले गलत ढंगले नाफा कमाउन खोज्नेहरुलाई भने कानुनी दायरामा ल्याउन आवश्यक रहेको पनि जनाए ।