
बुटवलको सुप्रिम सहकारी अपचलनको मुद्दामा बयानका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज (मंगलबार) बुटवल पुगेका छन् । उनी हवाई मार्ग हुँदै भैरहवा पुगेका हुन् ।
कास्की प्रहरीको हिरासतमा रहेको समयमा गत कात्तिक २७ मा पनि लामिछानेले बुटवलस्थित सरकारी वकिलको कार्यालयमा पुगेर बयान दिएका थिए ।
लामिछाने पोखराको सूर्यदर्शन सहकारीको मुद्दामा जिल्ला अदालत कास्कीबाट ६५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएको दुई दिनपछि कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनको मुद्दामा बयान दिन काठमाडौं जिल्ला अदालत हाजिर भएका थिए ।
काठमाडौंमा पनि उनी धरौटीमा रिहा भएपछि रुपन्देही प्रहरीले दोस्रो चरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो ।
सुप्रिम सहकारीको १४ करोड २९ लाख रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको मध्ये दुई करोड रुपैयाँ प्रक्रिया पूरा नगरी रवि लामिछानेको नाममा ऋण गएको उल्लेख थियो ।