काठमाडौं, माघ ९ :

गैरआवासीय नेपाली संघका अध्यक्ष बद्री केसीले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् ।

देउवानिवास बूढानीलकण्ठमा आज (मंगलबार) भएको भेटमा अध्यक्ष केसीले सरकारले विदेशमा बस्ने नेपालीलाई गैरआवासीय नेपाली नागरिकता दिन थाले पनि त्यसको संविधानतः कार्यान्वयन नहुँदा समस्या परेको भन्दै समाधानका लागि पहल गरिदिन अनुरोध गरे ।

संविधानले नै निर्दिष्ट गरेको अधिकार प्राप्तिका लागि पटक-पटक सरकारको ध्यानाकर्षण गराउँदा पनि पछिल्लोपटक गैरआवासीय नेपालीलाई १० वर्ष भिसा शुल्क नलाग्ने भनेर अध्यादेश आउँदा विदेशमा रहेका नेपालीहरु थप निराश भएको अध्यक्ष केसीले बताए ।

भेटमा पूर्वप्रधानमन्त्री देउवाले केही दिनमा सुरु हुने हिउँदे अधिवेशनबाटै संविधानले दिएका अधिकार कार्यान्वयनका लागि मार्गप्रशस्त गर्न आफ्नो तर्फबाट पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘संविधानले नै दिएको अधिकार हो, जे जति कारण कार्यान्वयन नभए पनि आगामी हिउँदे अधिवेशनबाट यो विषय सम्बोधन होला, मैले गर्नुपर्ने पहल गर्छु ।’