काठमाडौं, माघ ११ :

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाहरुप्रति भ्रम छर्ने काम भइरहेको बताएका छन् ।

काठमाडौंमा बिहीबार आयोजित राष्ट्रिय वाणिज्य बैंकको ६०औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले बैंक तथा वित्तीय संस्थाहरुप्रति वास्तविक कुराहरु नभई भ्रम छर्ने कामहरु भइरहेको दाबी गरे ।

अधिकारीले साना कर्जाहरु विस्तार गर्नुपर्ने अहिलेको आवश्यकता रहेको उल्लेख गरे । कुनै पनि वित्तीय संस्थाहरु समस्यामा भए त्यसको तथ्यांक राष्ट्र बैंकसँग हुने र सोही अनुसारको कामहरुबाट संस्थालाई सुझाव दिने काम गरिरहेको उनको भनाइ छ ।

‘बैंकिङ आफैँमा कति चुनौतीपूर्ण छ यहाँहरु सबैलाई थाहा छ । कतिले अहिले बैंकहरु कुनै वित्तीय संस्थाहरु समस्यामा छन् कि भनेर हल्ला फैलाउने, अफवाह फैलाउने, चाहिँदो, नचाहिँदो कुराहरु सोसल मिडियामा राख्ने । छोटो कुराहरु राख्यो, मिडियामा । वास्तविक कुराहरु आउँदैन,’ गभर्नर अधिकारीले भने, ‘अनि मान्छेहरुलाई भ्रम छर्दिने काम खुब भइरहेको हामी देख्छौँ । कुनै संस्थामा समस्या भयो भने त्यसको डेटाहरु राष्ट्र बैंकमा हुन्छ । त्यसलाई कसरी व्यवस्थापन गर्न कुनै पनि वित्तीय संस्थालाई ।’

काम गर्नैपर्ने दबाबका कारण अध्यादेश ल्यायौँ : अर्थमन्त्री पौडेल

राष्ट्र बैंकले रेगुलेट गरेको संस्थाको डिपोजिटरलाई कुनै हालतमा पनि समस्यामा पर्न नदिने उनले प्रतिबद्धतासमेत जनाए । कर्जा विस्तारमा लाग्न बैंकहरुलाई गभर्नर अधिकारीले आग्रहसमेत गरे ।

‘हाम्रो कुनै पनि डिपोजिटरलाई राष्ट्र बैंकले रेगुलेट गरेको संस्थाको डिपोजिटरलाई हामी कुनै हालतमा पनि समस्यामा पर्न दिँदैनौँ । डिपोजिट समस्यामा पर्न दिँदैनौँ, त्यो हाम्रो एक खालको प्रत्याभूति नै हो,’ उनले भने ।

गभर्नर अधिकारीले बैंक तथा वित्तीय संस्थामा आउने उत्तारचढावलाई स्वभाविक रुपमा लिनुपर्ने धारणा राखे । नेपाल राष्ट्र बैंक कुनै पनि निक्षेपकर्तालाई घाटामा पर्न नदिने गभर्नर अधिकारीको भनाइ छ ।