काठमाडौं, माघ ११ :

महालक्ष्मी विकास बैंकले अगस्त १९ मा मनाइने विश्व फोटोग्राफी दिवसका अवसरमा आयोजना गरेको ‘महालक्ष्मी विकास बैंक बिजचित्र फोटोग्राफी प्रतियोगिता-संस्करण २’ को पुरस्कार वितरण गरिएको छ ।

दरबारमार्गमा बिहीबार आयोजित कार्यक्रममा प्रथम, द्वितीय, तृतीय स्थान तथा पब्लिक च्वाइस अवार्ड हासिल गर्ने फोटोग्राफरलाई पुरस्कार वितरण गरिएको हो । प्रतियोगितामा सुवास श्रेष्ठ प्रथम, सौरभ बज्राचार्य दोस्रो र पारसराज बज्राचार्य तेस्रो हुन सफल भएका छन् ।

विजेताले प्रमाणपत्रका साथमा क्रमश: २० हजार, १५ हजार र १० हजार रुपैयाँको नगद पुरस्कार प्राप्त गरेका छन् । पब्लिक च्वाइसमा सबैभन्दा बढी भोट प्राप्त गरी घनश्याम श्रेष्ठले पब्लिक च्वाइस अवार्ड जित्न सफल भएका छन् ।

उनले प्रमाणपत्रका साथै पाँच हजार रुपैयाँ प्राप्त गरेका छन् । यसका साथै पुरस्कार वितरण कार्यक्रममा बैंकका तर्फबाट उत्कृष्ट १५ फोटोग्राफरलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतियोगितामा सहभागी हुन स्थानीय साना तथा मझौला व्यापारहरू झल्कने फोटोहरु खिचेर पठाउनुपर्ने नियमअनुसार विभिन्न फोटोग्राफरमार्फत फोटोहरू प्राप्त भएका थिए । प्रतियोगितामा समावेश सम्पूर्ण फोटो उत्कृष्ट तथा स्थानीय तहमा सञ्चालित व्यवसायहरुमार्फत सकारात्मक सन्देश प्रदान गर्ने खालका थिए ।

प्रतियोगिताको मूल्यांकनका लागि छानिएको तीन सदस्यीय निर्णायक समितिमार्फत १५ उत्कृष्ट तस्बिर छानिएको थियो । यस्ता कार्यबाट स्थानीय व्यवसाय, उद्यमशीलता, स्थानीय कलाको प्रवर्धन तथा प्रचार गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

बैंकले हालै ग्राहकलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने नीतिबमोजिम मोबाइल  एप्लिकेसनलाई परिष्कृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा ल्याएको छ ।