काठमाडौं, माघ १२ :

धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई जवाफी पत्र पठाएका छन् ।

धरानमा खानेपानी आयोजना निर्माणका क्रममा अनियमितता गरेको भन्दै उनीविरुद्ध अख्तियारमा उजुरी परेको थियो । उजुरीका विषयमा अख्तियारले सोधेपछि मेयर राईले जवाफी पत्र लेखेका हुन् ।

केन्द्र सरकारले नसुनेपछि धरानवासीको जीवन बचाउन ४२ किलोमिटर टाढा कोकाहाबाट भिरपाखा, डाँडाकाँडा, उकाली-ओराली गर्दै पानी ल्याउनुपरेको मेयर राईको भनाइ छ ।

‘…केन्द्र सरकारलाई कोसीबाट पानी ल्याइदिनू है भनेर वर्षौं बिन्ती बिसाउँदा पनि नसुनेकाले अस्ती थोत्रे गाग्री लिएर सिंहदरबार पुगेँ । जनतालाई पानी चाहिएको छ है, तत्काल पानी चाहिएको छ । आश्वासन र कागजको खोस्टा होइन, पानी चाहिएको छ के ! त्यसैले हाम्ले श्रमदान गर्नु परेको हो… खोइ कुरा बुझ्या,’ अख्तियारलाई उनको जवाफ छ ।

आफूले दुःख गरेको देखेर ताली बजाउनुको सट्टा श्रमदान अभियानको खेदो खन्ने काम भएको उनको भनाइ छ ।

उनले जवाफी पत्रमा भनेका छन्,‘बाइयत उजुरी लाउने मान्छेले कतिवटा पाइप किनेर दियो ? कति दिन श्रमदान गयो ? को हो त्यो ? बुझेर लेखिपठाउनु होला । धरानको हो कि धरान बाहिरको हो त्यो फटाहा ? अचम्म लाग्छ यत्रो दुःख गर्दा नि ताली नबजाको देख्दा राज्यको ढुकुटी खर्चेर बनाएको मेलाम्ची, दमक टावर, ncell widebody जस्ता कुरातिर नलागेर श्रमदान अभियानको खेदो नखन्नु है, नखन्नु तिर्खाएका मानिसहरुको श्राप लाग्ला । पानी भनेको विकास होइन जीवन आधार, मानिसको आधारभूत आवश्यकता हो । पानीमा राजनीति गर्नु हुँदैन । पानी माग्न जनता त्यता आउलान् है फेरि ।’