
सूर्य नेपाल गल्फ टुर २०२४-२५ अन्तर्गतको चौथो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपनअन्तर्गत प्रो-एमको उपाधि प्रो सञ्जय लामाको टिमले जितेको छ ।
कुल १४८ स्कोर जोड्दै सञ्जयको टिम पहिलो भएको हो । प्रो सञ्जयले ३४, युवा एमेच्योर ड्यानियल बानियाले ३९, दीप्सन लामा र मनीष शेरचनलले समान ३६ स्कोर गरे । प्रो जयराम श्रेष्ठको टिम कुल १३५ स्कोरका साथ दोस्रो भयो ।
जयरामले ३५ तथा एमेच्योर लीलाजंग गुरुङले ३४, तथा श्याम तामाङ र विश्व गुरुङले समान ३३ स्कोर गरे ।
प्रो भुवन नगरकोटीको टिम १३० स्कोरमा तेस्रो भयो । भुवनले ३४ स्कोर गर्दा एमेच्योर खेलाडीहरु राजेन्द्र गौचन, बलराम थापा र राजु थकालीले समान ३२/३२ अंक जोडे । महिलातर्फको उत्कृष्ट कार्ड गीता गुरुङले बनाइन् । उनले ३० स्कोर गरिन् । लङगेस्ट ड्राइभको उपाधि पेम्बा शेर्पा र क्लोजेस्ट टु दी पिनको उपाधि बलराम थापाले जिते ।
प्रो-एम इभेन्टमा आज २० प्रोफेसनल गल्फरसहित कुल ९० खेलाडीले भाग लिएका थिए । विजयी खेलाडीहरुलाई नेपाल गल्फ संघका वरिष्ठ उपाध्यक्ष पवित्रकुमार कार्की, हिमालयन गल्फ कोर्सका निर्देशक किरण केसी, गण्डकी प्रदेश गल्फ संघका अध्यक्ष इन्द्रधारा विष्ट र कास्की गल्फ संघका अध्यक्ष जीवाराम गुरुङले पुरस्कार प्रदान गरे ।
हिजो (शुक्रबार) सम्पन्न भएको सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि नीरज तामाङले जिते । ५४-होलको प्रतियोगितामा नीरजले १-अन्डर २०६ सहित उपाधि हात पारेका हुन् ।
२-ओभर २०९ सहित जयराम श्रेष्ठ दोस्रो तथा ३-ओभर २१० स्कोरमा भुवनकुमार रोक्का तेस्रो भए । जयरामले एक लाख प्राप्त गरे तथा भुवनले ७५ हजार रुपैयाँ जिते । कुल दुई लाख ८८ हजार पुरस्कार राशि रहेको प्रतियोगितामा ३४ प्रो र १८ एमेच्योर खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए ।