काठमाडौं, माघ १४ :

सभामुख देवराज घिमिरेले संसद्‌को हिउँदे अधिवेशन नजिकिँदै गर्दा त्यसको तयारीबारे छलफल थालेका छन्। सभामुख घिमिरेले विधेयक रहेका संसदीय समितिका सभापतिसँग पनि छुट्टाछुट्टै छलफल गरिसकेका छन् ।

आइतबार बिहान सत्तापक्षका प्रमुख सचेतक तथा सचेतकसँग छलफल गरेका सभामुख घिमिरेले  दिउँसो २ बजे प्रमुख प्रतिपक्ष तथा प्रतिपक्षी दलका प्रमुख सचेतकसँग छलफल गरेका छन्।

सभामुख घिमिरेले कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे र एमाले प्रमुख सचेतक महेशकुमार बर्तौलालाई सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा बोलाएर प्रतिनिधिसभामा रहेको संवैधानिक परिषद्सम्बन्धी विधेयक र मर्यादासम्बन्धी विधेयकका विषयमा धारणा मागेका हुन् ।

राष्ट्रियसभाबाट पारित भएर आएका संवैधानिक परिषद्सम्बन्धी विधेयक र मर्यादासम्बन्धी विधेयकलगायत प्रतिनिधिमै अड्किएका अन्य विधेयकबारे धारणा माग गरेका हुन् ।  संसद्मा विचाराधीन सबै विधेयक अघि बढ्ने एमाले प्रमुख सचेतक बर्तौलाले बताए।

यस्तै सोमबार ११ बजे पनि उनले प्रमुख पाँच दलका प्रमुख सचेतक र सचेतकसँग सिंहदरबारमा छलफल गर्ने कार्यक्रम रहेको छ। सभामुख घिमिरेले माघ १५ गते दिउँसो १ बजेका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले यही माघ १८ गते दिउँसो १ बजे सुरु हुने गरी संसद्‌का दुवै बैठक आह्वान गरेका छन् ।