
छैटौं नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (एनसीआईएफएफ) माघ १७ गतेबाट काठमाडौंमा सुरु हुँदै छ । चलचित्र विकास बोर्डको सहकार्यमा नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा माघ १९ गतेसम्म तीन दिन सञ्चालन हुने महोत्सवमा ४७ देशका ९८ चलचित्र, लघुचलचित्र तथा वृत्तचित्रहरु प्रदर्शन हुँदै छन् ।
सबै चलचित्र निःशुल्क हेर्न पाइने आयोजक टिमले जनाएको छ । चलचित्र महोत्सवको ओपनिङ दरबारमार्गस्थित राइजिङ मलको क्यूएस सिनेमामा हुनेछ । ओपनिङमा मोहन अभिलाषीले निर्देशन गरेको लघुचलचित्र पाउलो प्रदर्शन गरिनेछ । राइजिङ मलको दुवै हलमा २ दिनसम्म नियमित चलचित्रहरु प्रदर्शन गरिने र चलचित्र विकास बोर्डमा ३ दिनसम्म चलचित्रहरु प्रदर्शन गरिने महोत्सवका निर्देशक सन्तोष सुवेदी बताउँछन् ।
महोत्सवमा सहभागी राष्ट्रिय चलचित्रतर्फ लक्ष्मण सुनारको बुलाकी, दिनेश राउतको पुजार सार्की, सत्यराज चौलागाईको विच्छेद, सनोल दासको पखेटा, कमल एक्चाई मगरको डेसानलगायत चलचित्र प्रदर्शन हुनेछन् । त्यस्तै विभिन्न विधाका छोटा चलचित्रमा द स्कुल वाल, रित्तो गाउँ, डाकिनी, निर्देश, थ्रेसहोल्ड, कन्तुर, अदेख, चराको नाच, मनु, बेली लगायत अन्य थुप्रै लघुचलचित्र र डकुमेन्ट्रीहरु समावेश गरिएको छ ।
झन्डै ३ दर्जन राष्ट्रिय तथा पाँच दर्जनबढी अन्तर्राष्ट्रिय चलचित्र प्रदर्शन हुने महोत्सवमा चलचित्र प्रदर्शनीसँगै मास्टर क्लास, प्यानल डिस्कसन, विभिन्न सांस्कृतिक नृत्यहरु र कला प्रदर्शनीसमेत रहनेछ । महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचिकर्मीहरुको उपस्थिति रहनेछ ।
महोत्सवमा आठजना अन्तर्राष्ट्रिय र आठजना राष्ट्रिय जुरी चयन गरिएको छ । जसमा भारतबाट चलचित्र निर्देशक निपोन धौला, जर्मनी चलचित्रकर्मी फाविन मात्थियस र चलचित्रकर्मी इभिन बिराजी, बेलायतबाट चलचित्र लेखक तथा निर्देशक लुईसा प्रिटोलानी, क्यानडाबाट चलचित्र निर्देशक जुडी ग्लाड्स्टोन, इरानबाट अभिनेत्री, लेखक तथा निर्देशक तिमा टाघिजादेह, बहराइनबाट चलचित्र निर्माता निर्देशक एवं लेखक इभा दाउद र रसियाबाट चलचित्रकर्मी इरिना बेराजी रहेका छन् ।
नेपालबाट निर्णायकको रुपमा संगीतकार तथा चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष शम्भुजित बासकोटा, अभिनेत्री मिथिला शर्मा, चलचित्र निर्देशक दीपेन्द्र के. खनाल, अभिनेता प्रदीप खड्का र टेलिभिजनकर्मी टीकाराम यात्री, अभिनेत्री सुरक्षा पन्त, चलचित्र निर्माता एवं निर्देशक रौनकविक्रम कँडेल र निर्देशक दिनेश लिङ्देन रहेका छन् ।
मौलिक कला, संस्कृतिको संरक्षण, संवर्धन र चलचित्र विकासका लागि हरेक वर्ष अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आयोजना गरिरहेको आयोजक टिमले जानकारी दिएको छ । सम्बन्धित निकायहरु आफैंले कला, चलचित्र र संस्कृति संरक्षण र संवर्धनका कार्यक्रमहरु गर्नुपर्नेमा विगतका चलचित्र महोत्सवहरु आयोजना हुँदै गर्दा सम्बन्धित निकायहरुबाट साथ, सहयोग नपाएको महोत्सव निर्देशक सन्तोष सुवेदीले गुनासो व्यक्त गरे ।
युनेस्कोको कार्यक्रमअन्तर्गत काठमाडौं महानगरपालिका फिल्म सिटीमा घोषणा भएको तर महानगरमै यति ठुलो महोत्सव हुँदासमेत महानगरले बेवास्ता गरेको उनी बताउँछन् । नेपालको राजधानी काठमाडौंमा ४७ देशका चलचित्र समावेश गरेर महोत्सव गर्न पाउँदा आफूलाई मात्र नभएर देशकै लागि गर्वको कुरा रहेको उनी बताउँछन् ।
यो महोत्सवमा उत्कृष्ट चलचित्र, उत्कृष्ट लघुचलचित्र मात्र नभएर उत्कृष्ट महिला चलचित्र, बालबालिका चलचित्र, सांस्कृतिक चलचित्र, एनिमेटेड चलचित्र, मानवअधिकार चलचित्र, डकुमेन्ट्रीलगायत धेरै विधा भएकाले अन्य विधालाई पनि प्रोत्साहन गरेको कारण यो चलचित्र महोत्सव अझ बढी महत्त्वपूर्ण रहेको उनको भनाइ छ ।
नेपालमा विधाअनुसारको विषयवस्तुमा कम फिल्म बन्छ, कि त बन्दै बन्दैन । बने पनि त्यसलाई प्रदर्शन गर्ने स्थान र प्रोत्साहन गर्ने संस्था छैन । विषयगत चलचित्रहरु उत्कृष्ट बन्दा पनि तिनीहरुले स्थान पाउँदैनन् । पाइहाले पनि प्रतिस्पर्धामा पछाडि नै राखिन्छ । तर यो महोत्सवले सबैलाई समेट्न सकेको उनको दाबी छ ।
महोत्सवमा चयन भएका चलचित्रहरूले उत्कृष्ट चलचित्र, निर्देशक, अभिनेता, अभिनेत्री, छायांकारलगायत उत्कृष्ट लघुचलचित्र, वृत्तचित्र, एनिमेटेड चलचित्र, महिला चलचित्र, बालबालिका चलचित्र, मानवअधिकारका चलचित्रजस्ता विभिन्न विधामा प्रतिस्पर्धा गर्नेछन् ।
यी विभिन्न विधामा सर्वोत्कृष्ट भएका चलचित्र तथा कलाकार प्राविधिकलाई महोत्सवको समापन समारोहमा अवार्ड प्रदान गरिनेछ । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्णायकहरुको मूल्यांकनको आधारमा फरकफरक विधाका उत्कृष्ट १५ वटा राष्ट्रिय तथा १५ वटा अन्तर्राष्ट्रिय गरी ३० चलचित्रलाई पुरस्कृत गरिनेछ ।