ललितपुर, माघ १४ :

नेपाल बिमा प्राधिकरणको आयोजनामा आइतबार आफ्नै कार्यालयमा सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी अभिमुखीकरण कार्यक्रम गरेको छ ।

‘वित्तीय क्रियाकलापमा पारदर्शिता, सम्पत्ति शुद्धीकरण निवारणमा प्रतिबद्धता’ भन्ने नाराका साथ मनाउन लागिएको ‘सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस’ को पूर्वसन्ध्यामा कार्यक्रम आयोजना गरिएको हो ।

प्राधिकरणका अध्यक्ष मदन दाहालले कार्यक्रममा सम्पत्ति शुद्धीकरण निवारण गर्ने राष्ट्रिय दायित्व बिमा क्षेत्रको पनि दायित्व भएकाले सोहीअनुसार जिम्मेवारीपूर्वक काम गर्न निर्देशन दिए । बिमा क्षेत्रमा हुनसक्ने सम्पत्ति शुद्धीकरण निवारणका लागि नेपाल बिमा प्राधिकरणमा छुट्टै शाखा स्थापना गरिएको र बिमा कम्पनीहरूलाई समेत यससम्बन्धी कार्य गर्ने गरी छुट्टै शाखा स्थापना गर्न निर्देशन दिइएको उनले उल्लेख गरे ।

अध्यक्ष दाहालले बिमा कम्पनीहरूलाई सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी तालिमलगायत आवश्यक प्राविधिक सहयोग गर्न प्राधिकरण तयार रहेको बताए । कार्यक्रममा डा. हरिकुमार नेपालले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी समग्र विषयमा प्रस्तुति गरेका थिए ।

कार्यक्रममा नेपाल बिमा प्राधिकरणका निर्देशक कमलप्रसाद रेग्मी तथा उपनिर्देशक पदमप्रसाद सोडारी र जीवन बिमा कम्पनी, निर्जीवन बिमा कम्पनी, लघुबिमा कम्पनी तथा पुनर्बिमा कम्पनीका कार्यान्वयन अधिकारीहरूको सहभागिता थियो ।