तेह्रथुम, माघ १५ :

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले युवा जनशक्तिमा विदेश पलायन हुने कुरामा अवसरभन्दा पनि दृष्टिकोण मुख्य कारण भएको बताएका छन् ।

तेह्रथुमको लसुनेमा धनरूप स्मृति पार्कको उद्घाटन गर्दै अध्यक्ष दाहालले देशभक्तिको भावना कमी, माटोको माया नगर्ने प्रवृत्तिका कारण विदेश जाने प्रवृत्ति बढ्दै भएको बताए ।

‘मलाई कता-कता आज-भोलि देशभक्तिको भावना कमी हुँदै गएको हो कि ?, आफ्नो माटोप्रतिको प्रेम कमजोर हुँदै गएको हो कि ? भन्ने चिन्ता लागेको छ,’ उनले भने, ‘हामी हाम्रा छोराछोरीहरुलाई, हाम्रा सन्ततिहरुलाई देशको माया, माटोको माया हाम्रो प्रकृतिले दिएका साधन- स्रोतको सदुपयोग गरेर हामी आफैं धनी, आफैं आत्मनिर्भर बन्नेबाटो तर्फ प्रेरित गरौं । विदेश पठाउन हतार नगरौं ।’

देश प्राकृतिक साधन-स्रोत जनशक्तिको दृष्टिकोणले, नागरिकको मिहिनेत र पराक्रमका दृष्टिले अब्बल रहेको र क्षमता र साहसको दृष्टिकोणले उत्कृष्ट नागरिक नेपाली हुन भन्ने स्थापित भएका कारण नेपालीहरुले यहीका सम्भावनालाई अवसरमा बदल्नुपर्ने उनको भनाइ थियो ।

‘हाम्रो देश साधन-स्रोतविहीन देश होइन, साधान स्रोतले सम्पन्न देश हो । प्राकृतिक साधन-स्रोत जनशक्तिको दृष्टिकोणले, मिहिनेत र पराक्रमका दृष्टिले सबल र क्षमता र साहसका दृष्टिकोणले अब्बल मानिस हौं । हामी नेपाली,’ उनले भने, ‘यही मिहिनेत गर्यो भने विदेसमा भन्दा पनि राम्रो कमाउन सक्छौं । देशमा भौतिक पूर्वाधारको पनि विकास र सहजता हुँदै गएको छ । तर युवाहरुलाई हामीले किन देशमै राख्न सकेका छैनौं भने देशमा टेक्नोलोजीको विकासमार्फत उत्पादनमा गुणात्मक वृद्धि गर्न सकियोस् भने अर्को दृष्टिकोणको कुरा हो हामी प्रति देश र माटोप्रतिको माया भए दुःख गरेर भए पनि देशमै बसेर माटोमै रहेका आफैं आत्मनिर्भर हुने काम गर्छ ।'

अध्यक्ष दाहालले आफू भ्रष्टाचारविरुद्ध सुशासनको पक्षमा, सामाजिक विभेदका विरुद्ध, सामाजिक न्यायका पक्षमा र आर्थिक पछौटेपनका विरुद्ध आर्थिक समृद्धिका पक्षमा अपिल गर्दै देशको पूर्वदेखि पश्चिसम्म विभिन्न कार्यक्रममा सहभागी भइरहेको जानकारी दिए ।

‘तपाईंहरुले देख्नुभएको छ अहिले म पूर्वदेखि पश्चिमसम्म देशका विभिन्न कार्यक्रम तथा समारोहहरुमा सहभागी भइराखेको छु । देशभर एउटा नयाँ विश्लेषण, नयाँ व्यख्या सुशासनको पक्षमा, भ्रष्टाचारकाविरुद्ध सामाजिक विभेदका विरुद्ध, सामाजिक न्यायका पक्षमा आर्थिक पछौटेपनका विरुद्ध आर्थिक समृद्धिका पक्षमा अपिल गर्दै हिँडेको छु,’ माओवादी अध्यक्ष दाहालले दाबी गरे ।