
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मन्त्रीहरुलाई सांसदहरुसँग समन्वय गरेर अघि बढ्न निर्देशन दिएका छन् ।
नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से हलमा सोमबार बसेको पार्टी संसदीय दलको बैठकमा सभापति देउवाले मन्त्रीहरुलाई आवश्यक समन्वय गरेर अघि बढ्न निर्देशन दिएको सांसद रामहरी खतिवडाले बताए ।
उनकाअनुसार बैठकमा सांसदहरुले अध्यादेश ल्याउँदा जानकारी समेत नदिइएको भन्दै मन्त्रीको कार्यक्षमतामाथि समेत प्रश्न उठाएका थिए । मन्त्रीहरुले यसको बारेमा जवाफ दिनुपर्ने भएकाले माघ १८ गते फेरि संसदीय दलको बैठक बोलाउने निर्णय भएको उनले बताए ।
उनले बैठकमा सांसदहरुले दुई ठुला दल मिलेर बनेको सरकारले अपेक्षाकृत काम गर्न नसके जनतामा निराशा छाउने भएकाले गम्भीर भएर अगाडि बढ्नुपर्ने धारणा राखेका छन् ।
बैठक १८ गतेसम्मलाई स्थगित भएको छ । अध्यादेश लगायतका विषयमा सांसदहरुले बोल्ने क्रम नसकिएपछि बैठक शुक्रबारसम्मलाई स्थगित गरिएको प्रमुख सचेतक श्याम घिमिरेले बताए । उनका अनुसार सोमबार दोस्रो दिन १७ जनाले धारणा राख्न भ्याए ।
केही सांसदहरु बोल्न बाँकी रहेको र त्यसपछि मन्त्रीहरुले जवाफ दिने कार्यक्रम भएकाले अर्को बैठक १८ गते बिहान ८ बजे बस्नेगरी स्थगित भएको घिमिरले बताए।बैठकमा बोल्ने केही सांसदहरुले सरकारले ल्याएको अध्यादेशबारे प्रश्न उठाएका छन्।
कांग्रेसका केही नेताहरुले सार्वजनिक रुपमै सरकारले अध्यादेशमार्फत देश चलाउन खोजेको भन्दै असन्तुष्टि जनाउँदै आएका छन् ।