
अधिक तरलता नियन्त्रणमा नआएपछि नेपाल राष्ट्र बैंकले मंगलबार पनि बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ खिचेको छ ।
कर्जाको मागमा संकुचन आउँदा बैंकिङ प्रणालीमा अधिक तरलता बढेसँगै राष्ट्र बैंकले यस दिन मौद्रिक उपकरण बिक्री गरेर उक्त परिमाणमा रकम खिचेको हो ।
राष्ट्र बैंकका अनुसार सो दिन अपराह्न २ बजेसम्ममा बोलकवोलको माध्यमद्वारा उक्त परिमाणमा रकम खिचिएको हो । परिपक्व हुने अवधि २१ दिन तोकिएको यो उपकरणको सावाँ-ब्याज भुक्तानी मिति फागुन छ तोकिएको छ । राष्ट्र बैंकका अनुसार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीले खरिद गर्न सक्ने गरी यो निक्षेप उपकरण बिक्री गरेको हो ।
खरिदकर्ताहरुले घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने गरी कुल आह्वान रकमसम्मको निक्षेप उपकरण खरिद गर्न सक्ने सीमा तोकिएको थियो । यसरी खरिद गरिएको उपकरण राष्ट्र बैंकबाहेकका बैंक तथा फाइनान्स कम्पनीहरुमा धितोका रुपमा समेत राख्ने सकिनेछ ।