
नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालले सरकारको ‘सपोर्टविना’ स्टार्टअप र उद्यमशीलताले गति लिन नसक्ने बताएका छन् । स्टार्टअपलाई सरकारको नीति, शिक्षा र तालिम, बैंकिङ सपोर्ट आवश्यक हुने उनको भनाइ थियो ।
नेपाली कांग्रेस उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागको आयोजनामा आज (बुधबार) बाट सुरु भएको नेपाल स्टार्टअप र साना तथा मझौला सम्मेलनमा ‘नवप्रवर्तन र उद्यमशीलताद्वारा आर्थिक रुपान्तरण’ विषयक प्यानल डिस्कसनमा नेपालले उद्यमशीलता विषय प्रारम्भिक शिक्षाबाटै हुनुपर्ने बताए । स्टार्टअप र उद्यमशीलताका लागि सरकारको सहुलियत कर्जा बढाउनुपर्ने बताए । सहुलियतपूर्ण कर्जा केन्द्रीय बैंकबाट जान नसकेको बताउँदै नेपालले कर्जा प्रवाह बढाउनुपर्नेमा जोड दिए ।
त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले सरकारले विभिन्न कानुन संशोधन हुने गरी अध्यादेश ल्याएपछि निजी क्षेत्र उत्साहित भएको बताउँदै श्रेष्ठले व्यवसायीमा नयाँ ऊर्जा पलाएको बताए । निजी क्षेत्रले धेरै वर्षदेखि उठाउँदै आएको मागलाई सरकारले सम्बोधन गरेको बताउँदै अध्यादेश पास भएपछि अर्थतन्त्र चलायन हुने उनको दाबी छ ।
‘अध्यादेशमा केही अपुग कुराहरु पनि छन् । त्यस विषयमा अध्यादेश टेबल भइसकेपछि छलफल गरौंला,’ श्रेष्ठले भने, ‘हामी हाम्रा सुझावहरु पनि पेस गर्नेछौं । त्यसमा माननीयहरुमा अहं भूमिका हुनेमा हामी आशावादी छौं ।’ मुलुकको वर्तमान परिस्थितीलाई सुधार्न सबै एकजुट हुनुपर्ने उनले बताए । उनले भने, ‘२०/४० प्रतिशतमा मात्रै उद्योग चलिरहेको छ । व्यवसाय सुस्ताएको छ । माग कम छ । व्यवसायीमा नैराश्यता छ । व्यवसायीको मनोदशा गम्भीर छ । मनोदशालाई परिवर्तन गर्न जरुरी छ । नीतिगत स्थिरता र निरन्तरता प्रमुख कुरा हो ।’
राज्यले उद्योग व्यवसाय गर्ने नभई अभिभावकीय भूमिका निर्वाह गर्नुपर्नेमा उनको जोड थियो । ‘व्यवसाय गर्दा राज्यलाई के फाइदा दियो त्यो हेर्ने, हो नाफा हेर्ने होइन । हाम्रो पनि व्यावसायिक धर्म हो । हामी नाफा हेर्छौं । उचित र अनुचित नाफामा सरकारले हेर्नुपर्छ,’ श्रेष्ठले भने । उद्यमशीलता विषय घरबाटै सिकाउनुपर्ने श्रेष्ठको भनाइ छ । उद्यमशीलता पाठ्यक्रमा समावेश गर्नुपर्नेमा उनको जोड थियो ।
नबिल बैंकका सिनियर डीसीओ मनोज ज्ञवालीले विश्वभर चलिरहेको स्टार्टअप ९० देखि ९५ प्रतिशत असफल हुने बताए । स्टार्टअप सुरु-सुरुमै असफल हुने उनको भनाइ छ । बैंकले बिजनेस असफलको रिक्स लिन नसक्ने कारणले स्टार्टअपलाई बैंकहरुले लगानी नगर्ने बताए ।
स्टार्टअपहरुले बैंकहरु खोज्नेभन्दा पनि सरकारी स्रोतहरु खोज्नुपर्ने उनको सुझाव छ । ‘यदि स्टार्टअप गर्ने हो भने आफ्नो सञ्चित रकमबाट सुरु गर्नुहोस् । यदि पुगेन भने परिवारको सदस्यहरुबाट लिनुहोस् । त्यसले पनि पुगेको भने भेन्चर क्यापिटलहरुमा जानुहोस् । त्यसले पनि पुगेन भने सरकारमा पुग्नुहोस् । यति गरेपछि स्टार्टअप ग्रो हुन्छ र बैंक त्यसपछि तपाईंको पछि-पछि लाग्छ ।’
त्यस्तै गोल्डस्टार सुजका कार्यकारी निर्देशक विदुषी राणाले उत्पादनमूलक क्षेत्रमा नेपालले लगानी बढाउन जरुरी रहेको बताइन् । नेपाली युवाहरुलाई सीप, तालिम प्रदान गरेर, नेपाली राखेर रोजगारी दिन सकिने उनको भनाइ छ ।
‘व्यवसाय गर्न नेपालमा मात्रै नभएर विश्वमै चुनौती छ । तर, नेपालमा धेरै चुनौती छन् । जुनसुकै व्यवसायमा प्रविधिको अनिवार्य भइसकेको छ । यदि प्रविधिलाई प्रयोग गरिएनौं भनेपछि परिन्छ,’ उनले भनिन् ।
उत्पादनमूलक उद्योगलाई बैंकहरुले प्रवाह गर्ने कर्जा महँगो भएको राणाको भनाइ छ । ‘नेपालमा करिब १५ सयवटा फुटवेयर कम्पनी छन् । करिब १५० कम्पनी मझौला र ४/५ वटा ठुला कम्पनी छन् । करिब ५० हजार जनालाई प्रत्यक्ष रोजगारी फुटवेयर उद्योगहरुले दिएका छन् । जसमध्ये ७५ प्रतिशत महिला जोडिएका छन्,’ उनले भनिन्, ‘नेपालबाट विदेश निर्यात हुने जुत्ताहरुमध्ये ९० प्रतिशत गोल्डस्टार छन् । पछिल्लो १० वर्षयता निर्यात गर्न गाह्रो भएको छ । बैंकको ब्याजदर महँगो छ । ट्रेडिङ र उत्पादनमूलक क्षेत्रमा ब्याजदर फरक हुनुपर्छ ।’ उत्पादनमूलक उद्योगलाई सरकारबाट प्रोरेक्सन हुनुपर्नेमा उनको जोड छ ।
नास आईटीका उपाध्यक्ष गौरव पाण्डे युवालाई विदेश जान रोक्नुभन्दा पनि विदेशीएका युवालाई नेपाल फर्काएर व्यवसाय गर्न प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । आईटी क्षेत्रमा नेपालले धेरै अघि बढेको बताउँदै करिब १ लाख युवा यस क्षेत्रमा आबद्ध रहेको बताए ।
अबको १० वर्षमा ४ लाख युवालाई रोजगारी प्रदान गर्न सकिने र वार्षिक १० खर्ब विदेशी मुद्रा आर्जन गर्न सकिने बताए । यसका लागि सरकारको नीति, बैंकिङ सपोर्ट महत्त्वपूर्ण हुने उनले बताए ।
कार्यक्रमको सहजीकरण किङ्स कजेजका अध्यक्ष नरोत्तम अर्यालले गरेका थिए । आजबाट सुरु भएको सम्मेलन दुई दिनसम्म चल्नेछ । सम्मेलनमा ६ वटा विषयमा प्यानल डिस्कसन हुनेछन् ।
यो पनि...
‘नेपालमा स्टार्टअपका लागि लगानीको सहज वातावरण र एकद्वार प्रणाली आवश्यक छ’
प्रभावकारी रुपमा ‘स्टार्ट अप’ चलाउन सके रोजगारीमा क्रान्ति हुन्छ : देउवा
साना तथा मझौला व्यवसायीलाई प्रोत्साहन गर्न स्टार्ट अप समिट गरिएको हो : मीन विश्वकर्मा
उद्योगमैत्री वातावरण बनाउन अहोरात्र खट्छौं : उर्मिला थपलिया