काठमाडौं, माघ १९ :

लगानीकर्ताहरुका लागि यो साता पनि सेयर बजार खासै सुखद हुन सकेन । दुई दिन लगातार सार्वजनिक बिदा परेका कारण यो साता तीन कार्य दिन मात्र नेप्सेको नियमित कारोबार कक्ष खुला थियो ।

त्यसमध्ये पनि दुई दिन लगातार ओरालो लागेर तेस्रो दिन सम्हालिएको नेप्सेले लगानीकर्ताहरुका लागि खासै उत्साह ल्याउन सकेन । जसले गर्दा यो साता नेप्से परिसूचकसँगै कारोबार रकम पनि गत साताको तुलनामा कम देखिएको छ ।

नेप्से परिसूचक यो साता २,६५७ दशमलव ७७ अंकमा कायम रहँदा (क) वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार सय ४४ दशमलव ७२ अंकमा सीमित भएको छ । सातामा ३२५ कम्पनीका दुई लाख ७७ हजार चार सय ७४ पटकको कारोबारमा पाँच करोड २६ लाख ५४ हजार एक सय ३८ कित्ता सेयर किनबेच भएका छन् ।

जसबाट यो साता कुल कारोबार रकम २७ अर्ब ४५ करोड ५४ लाख १७ हजार चार सय ३७ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा नौ अर्ब रुपैयाँले कम हो । गत साता नेप्सेमा ३६ अर्ब सात करोड ८७ लाख ३६ हजार ७७ रुपैयाँको सेयर किनबेच भएको थियो ।

उक्त साता ३२५ कम्पनीको तीन लाख ९१ हजार चार सय ८९ पटकको कारोबारमा सात करोड १० लाख ८३ हजार चार सय ७४ कित्ता सेयर खरिद-बिक्री हुँदा उक्त परिमाणमा रकम कारोबार भएको थियो ।

यो साता नेप्से नियमित कारोबारका लागि तीन दिन मात्र खुला थियो । जसमध्ये पहिलो र दोस्रो दिन नेप्से ओरालो लागेको थियो भने तेस्रो दिन उकालो लागेको थियो । पहिलो दिन आइतबार नेप्से परिसूचक १० दशमलव ४१ अंकले घटेर २६ सय ४३ दशमलव ९३ अंकमा खुम्चिँदा (क) वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव २० अंकले घटेर चार सय ४३ दशमलव ६० अंकमा खुम्चिएको थियो ।

दोस्रो दिन पनि नेप्से १० दशमलव ६६ अंकले घटेर २६ सय ३३ दशमलव २७ अंकमा खुम्चिँदा सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव सात अंकले घटेर चार सय ४१ दशमलव ५२ अंकमा खुम्चिएको थियो ।

तेस्रो दिन भने नेप्से केही सम्हालिएको थियो । यसदिन नेप्से परिसूचक २४ दशमलव ५० अंकले बढेर २६ सय ५७ दशमलव ७७ अंकमा पुग्न सफल भएकोमा सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव १९ अकले बढेर चार सय ४४ दशमलव ७२ अंकमा पुग्न सफल भएको थियो ।

यो साता सप्तकोसी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेडको आदिको बढी रकम कारोबार हुँदा नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेड, सप्तकोसी डेभलपमेन्ट बैंक आदिको बढी संख्यामा सेयर किनबेच भएको छ ।

बजार पुँजीकरणका आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अगाडि परेका छन् ।