
बैंकिङ क्षेत्रको कुल चुक्तापुँजी चार खर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको पछिल्लो पाँच महिना अर्थात् मंसिर मसान्तसम्म लघुवित्तबाहेक सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंक, क्षेत्रीय र राष्ट्रियस्तरका समेत गरी १७ विकास बैंक र १७ वटा फाइनान्स कम्पनीसहितका ५४ संस्थाको चुक्तापुँजी चार खर्ब ३९ अर्ब पाँच करोड १० लाख रुपैयाँ पुगेको हो ।
बैंकिङ क्षेत्रमा हाल कायम रहेको यो चुक्तापुँजी गत आवको सोही अवधिको तुलनामा ६ अर्ब पाँच करोड ४० लाख रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा बैंकिङ क्षेत्रको कुल चुक्तापुँजी चार खर्ब ३२ अर्ब ९९ करोड ७० लाख रुपैयाँ रहेको थियो ।
राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुको मात्र चुक्तापुँजी भने पछिल्लो अवधिमा तीन खर्ब ८१ अर्ब ३७ करोड ८० लाख रुपैयाँ पुगेको छ । यो चुक्तापुँजी गत आवको सोही अवधिको तुलनामा चार अर्ब २५ करोड ४० लाख रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा वाणिज्य बैंकहरुको यस्तो चुक्तापुँजी तीन खर्ब ७७ अर्ब १२ करोड ४० लाख रुपैयाँ थियो ।
विकास बैंकहरुले मात्र भने पछिल्लो अवधिमा ४२ अर्ब ४२ करोड रुपैयाँ चुक्तापुँजी कायम गरेका छन् । यो चुक्तापुँजी गत आवको सोही अवधिको तुलनामा एक अर्ब ७६ करोड ३० लाख रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा विकास बैंकहरुको यस्तो चुक्तापुँजी ४० अर्ब ६५ करोड ७० लाख रुपैयाँ रहेको थियो ।
फाइनान्स कम्पनीहरुको कुल चुक्तापुँजी भने पछिल्लो अवधिमा १५ अर्ब २५ करोड २० लाख रुपैयाँ पुगेको छ । यो चुक्तापुँजी गत आवको सोही अवधिको तुलनामा तीन करोड ६० लाख रुपैयाँले मात्र बढी हो । राष्ट्र बैंकका अनुसार गत आवको सोही अवधिमा फाइनान्स कम्पनीहरुको कुल चुक्तापुँजी १५ अर्ब २१ करोड ६० लाख रुपैयाँ थियो ।