काठमाडौं, माघ २१ :

आयात र निर्यातबीचको उच्च असन्तुलनका कारण वैदेशिक व्यापार कमजोर बन्दा मुलुकको समग्र अर्थतन्त्र निकै नै दयनीय अवस्थामा पुगेको देखिएको छ ।

नेपाल राष्ट्र बैकले आइतबार सार्वजनिक गरेको चालु आवको ६ महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनअनुसार पनि मुलुकको अवस्था कमजोर देखिएको हो ।

प्रतिवेदनअनुसार आव ०८१/८२ को ६ महिनामा कुल वस्तु व्यापार-घाटा चार दशमलव चार प्रतिशतले बढेर सात खर्ब २३ अर्ब ५८ करोड पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा दुई दशमलव ६ प्रतिशतले कमी आएको थियो ।

समीक्षा अवधिमा निर्यात- आयात अनुपात १२ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात नौ दशमलव आठ प्रतिशत थियो । समीक्षा अवधिमा भारतबाट परिवर्त्य विदेशी मुद्रा भुक्तानी गरी ८८ अर्ब ५६ करोड बराबरको वस्तु आयात भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ७६ अर्ब २५ करोड बराबरको भएको थियो । कुल वस्तु निर्यात भने यस अवधिमा ३१ दशमलव आठ प्रतिशतले बढेर ९८ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा सात दशमलव दुई प्रतिशतले कमी आएको थियो ।

गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ४६ दशमलव एक प्रतिशत, १९ दशमलव सात प्रतिशत र एक प्रतिशतले बढेको छ । वस्तुगत आधारमा सोयाबिन तेल, चिया, पोलिस्टर यार्न तथा थ्रेड, पार्टिकल बोर्ड, अलैंचीलगायत वस्तुको निर्यात बढेको छ । पाम तेल, जिंक सिट, अदुवा, तयारी पोसाक, जडीबुटीलगायत वस्तुको निर्यात घटेको प्रतिवेदनमा उल्लेख छ ।

पेट्रोलियम पदार्थ, कच्चा पाम तेल, सुन, रासायनिक मल, केराउलगायत वस्तुको आयात घटेको छ ।

राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष ०८१/८२ को ६ महिनामा कुल वस्तु आयात सात दशमलव एक प्रतिशतले बढेर आठ खर्ब २२ अर्ब ३७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा तीन दशमलव एक प्रतिशतले कमी आएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः पाँच दशमलव नौ प्रतिशत, आठ दशमलव नौ प्रतिशत र नौ प्रतिशतले वृद्धि भएको छ ।

वस्तुगत आधारमा कच्चा भटमास तेल, चामल/धान, यातायात उपकरण, सवारीसाधन तथा अन्य सवारीसाधनका स्पेयर पार्टस्, स्पन्ज आइरन, खाने तेललगायत वस्तुको आयात बढेको छ । पेट्रोलियम पदार्थ, कच्चा पाम तेल, सुन, रासायनिक मल, केराउलगायत वस्तुको आयात घटेको छ ।

निर्याततर्फ भैरहवा, विराटनगर, वीरगन्ज, सुक्खा बन्दरगाह, कैलाली, कृष्णनगर, मेची, नेपालगन्ज र रसुवा भन्सार कार्यालयबाहेक प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्फ सुक्खा बन्दरगाहबाहेक भैरहवा, विराटनगर, वीरगन्ज, जलेश्वर, कैलाली, कञ्चनपुर, कृष्णनगर, मेची, नेपालगन्ज, रसुवा, तातोपानी, त्रिभुवन विमानस्थल भन्सार कार्यालयलगायत सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ ।