काठमाडौं, माघ २१ :

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पाथीभरा मन्दिरमा कुनै एक व्यवसायीको लाभका लागि केबलकार बनाउन दिन नहुने बताएका छन् ।

काठमाडौंमा आइतबार पाथिभरा  केबलकारको विषयमा धारणा राख्न आयोजित पत्रकार सम्मेलनमा उनले जनतामाथि गोली चलाएर दमन गरी पाथीभरा मन्दिरमा केबलकार बनाउन जरुरी नभएको धारणा राखे । उनले सरकारले एकजना व्यापारीको फाइदा,केही राजनीतिक नेताहरुको कमिसन र सेयर सुरक्षाका लागि जनतामाथि गोली चलाएर केबलकार बनाउन दिन खाजेको आरोप लगाए ।

उनले पाथीभरा मन्दिरमा केबलकारको आवश्यकता, स्थानीय जनताको फाइदा, मन्दिरको मौलिकताको सुरक्षा, सनातन परम्परामाथि आक्रमण र सुरक्षाका विषयमा विश्लेषण गरेर मात्रै केवलकार निर्माण कार्यअघि बढाउनुपर्नेमा जोड दिए । उनले सरकारले केबलकार निर्माण कार्य तत्काल रोक्नुपर्ने बताए ।

‘ताप्लेजुङमा सरकारले कुनै व्यापारीको फाइदा,केही राजनीतिक नेताहरुको कमिसन, सेयर सुरक्षाका लागि जनतामाथि होली चलाएर, निर्मम दमन गरी पाथीभरा मन्दिरमा केबलकार बनाउन जरुरी छैन,’ उनले भने, ‘केबलकारको आवश्यकता हो वा होइन । स्थानीय जनतालाई कति फाइदा गर्छ । केवलकारले त्यहाँको मौलिकताको सुरक्षा, सनातन परम्परामाथि आक्रमण  र सुरक्षा हुन्छ कि हुँदैन । त्यसको विश्लेषण गरेर मात्रै केवलकार निर्माण कार्य अघि बढाउनुपर्छ ।’

उनले केबलकार निर्माण कार्य रोक्दै सरकारले जनतामाथि गरिएको प्रहरी दमन रोकी सहज वातावरण र जनजीवनलाई सहज बनाउँदै आतंकको अन्त्य गर्न ध्यानाकर्षण गराए । सरकार व्यवसायीको व्यक्तिगत लाभसँग सम्बन्धित विषयहरुमा मात्रै केन्द्रित हुँदै जाने र जनतालाई दमन गर्दै जाने हो भने राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिवाद गर्ने अध्यक्ष लिङ्देनले चेतावनी दिए ।

‘अहिले केवलकार निर्माणकार्य तत्काल रोक्न तथा जनतामाथि गरिएको प्रहरी दमन रोकी प्रहरीहरु फिर्ता गरी सहज वातावरण र जनजीवनलाई सहज बनाउँदै भय र आतंकको अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराउन चाहन्छु, उनले भने, ‘सरकारले व्यवसायीको व्यक्तिगत लाभसँग सम्बन्धि विषयहरुमा मात्रै केन्द्रित हुँदै जाने र जनतालाई दमन गर्दै जाने हो भने राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिवाद गर्छ ।’

उनले सरकारले दमन र निर्माणकार्य स्थगित गरेर वार्ता र संवादको वातावरण बनाउनुपर्नेमा जोड दिए । उनले सरकारसँग थुनामा रहेका मानिसहरुलाई छोड्न र घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था गर्न पनि माग गरे ।

‘सरकारले दमन र निर्माणकार्य स्थगित गरेर वार्ता र सम्वादको वातावरण बनाउनुपर्छ । थुनामा रहेका मानिसहरुलाई छोड्नुपर्छ । घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था गर्नुपर्छ,’ लिङ्देनले भने ।