पाथीभरामा केबलकार निर्माणको विषयलाई लिएर केही दिनयत त्यस क्षेत्रमा तनाव सिर्जना भएको छ । केबलकार निर्माण गर्न हुन्न भन्ने पक्षले बन्दको आह्वान गर्दा सर्वसाधारणले सास्ती खेप्नु परेको छ ।
यसै क्रममा झापाको दमकमा आइतबार बन्दकर्ता र प्रहरीबीच झडप भएको छ । आन्दोलनरत पक्षले ढुङ्गा हानेर सवारी साधन तोडफोड गर्न थालेपछि प्रहरी र बन्दकर्ताबीच झडप भएको हो।
झापाका प्रहरी प्रमुख एसपी मिलन केसीले बन्दकर्ताबाट सवारीसाधन र प्रहरीमाथि ढुंगामुढा प्रहार हुन थालेपछि भिडलाई तितरबितर गर्न एक सेल अश्रुग्यास प्रहार गरेको दाबी गरेका छन् । तर, बन्दकर्ताहरुले भने प्रहरीले दुई राउन्ड हवाइ फायर गरेको बताएका छन्।
आन्दोलनरत पक्षले गाडीमा तोडफोड गर्न थालेपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो। बन्दकर्ताले दुई वटा सवारी साधनमा तोडफोड गरेको प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए।
धरान र झापाबाट १३ जना बन्दकर्तालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। पहिचान पक्षधरहरुले मुक्कुम्लुङ क्षेत्रमा केबलकार निर्माण गर्न नहुने भन्दै चरणवद्ध आन्दोलनको घोषणा गरेका छन् ।