
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेकै निर्वाचन प्रणालीमा पनि बहुमत ल्याउन सकिने बताएका छन् ।
पार्टीले पोखरामा सोमबार आयोजना गरेको प्रशिक्षण कार्यक्रम उद्घाटन कार्यक्रममा देउवाले त्यसका लागि पार्टीलाई एकढिक्का बनाउनुपर्नेमा जोडदिए। सभापति देउवाले विद्यमान समावेशी एवं समानुपातिक राजनीतिक प्रणालीका कारण एउटा पार्टीको बहुमत आउन गाह्रो भए पनि एकताबद्ध प्रयास भएमा कांग्रेसले बहुमत ल्याउने बताए ।
कांग्रेसकै कतिपय नेताले मिश्रित निर्वाचन प्रणालीमा कुनै पनि दलले बहुमत ल्याउन नसक्ने भन्दै निर्वाचन प्रणाली बदल्नुपर्ने धारणा व्यक्त गरिरहँदा देउवाले त्यसबारेमा आफ्नो धारणा प्रष्टयाएका हुन् ।
उनले भने,‘यो संविधानअनुसार बहुमत प्राप्त गर्न सहज छैन । मतभेद बिर्सिएर हिँडे बहुमत ल्याउन सकिन्छ।’ नेताले सुम्पिएको जिम्मेवारी अहिलेको नेतृत्वको काधमा आएको भन्दै देउवाले त्यो जिम्मेवारी पूरा गर्नका लागि पनि पार्टीभित्र एकता जरुरी रहेको बताए ।
उनले संवैधानिक व्यवस्थासहित राज्य सञ्चालनमा मुलुकका सबै जातजाति, भाषा, समुदाय र क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गरेको धारणा व्यक्त गरे ।
सङ्घर्षको जगमा प्राप्त लोकतन्त्र, सङ्घीयता र समावेशितालाई सुदृढ गर्न जरुरी रहेको उल्लेख गर्दै उनले देश विकासका लागि अधिकारको विकेन्द्रीकरण हुनुपर्नेमा जोड दिए ।
प्राप्त अधिकारको सदुपयोग गर्दै अघि बढ्नुपर्ने धारणा व्यक्त गर्दै पार्टी सभापति देउवाले सदैव देश र जनताका पक्षमा खटिएर काम गर्न नेता तथा कार्यकर्तासँग आग्रह गरे ।
पोखरामा सुरु भएको प्रशिक्षण एवं अभिमुखीकरण कार्यक्रमले पार्टीको आगामी कार्यदिशा तय गर्नाका साथै विद्यमान समस्याहरूको समाधानका लागि उचित मार्गनिर्देश गर्ने उनले विश्वास व्यक्त गरे।
कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख एवं पार्टीका उपसभापति पूर्णबहादुर खड्काले पार्टीको प्रशिक्षण कार्यक्रम केन्द्र, प्रदेश, जिल्ला एवं निर्र्वाचन क्षेत्रमार्फत सबै ठाउँमा सञ्चालन हुने जानकारी दिए।
पार्टीको प्रशिक्षण पुस्तिका निर्माण गर्ने सन्दर्भमा तयार गरिएको ‘ड्राफ्ट’ छलफलका लागि सम्बन्धित निकायहरूमा पठाइसकिएको जानकारी दिँदै प्रशिक्षण प्रतिष्ठानका प्रमुख खड्काले माघ मसान्तभित्रमा सुझावहरू सङ्कलन गरी पुस्तिकालाई अन्तिम रुप दिने बताए ।
यस्तै कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले पार्टीको ऐतिहासिक मूल्यमान्यता र विरासतलाई बिर्सन नहुने धारणा व्यक्त गर्दै सबैलाई समेटेर पार्टीलाई बलियो र सुदृढ बनाउनुपर्नेमा जोड दिए ।
कांग्रेसको एकदिने सो प्रशिक्षण एवं अभिमुखीकरण कार्यक्रममा सातवटै प्रदेशका पार्टी सभापति र प्रदेशका प्रशिक्षण विभाग प्रमुख, पार्टीका केन्द्रीय पदाधिकारी, कास्की जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य तथा प्रदेशका पदाधिकारी सहभागिता रहेको छ ।