.jpg)
आज माघ शुक्ल पञ्चमी, अर्थात श्रीपञ्चमी । विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइएको छ ।
काठमाडौंसहित जनकपुर, वीरगन्जलगायत देशभरै श्रीपञ्चमीका अवसरमा भक्तजनहरुको बाक्लो उपस्थिति थियो । काठमाडौं उपत्यकासहित देशभरका सरस्वती र देवी मन्दिरमा विद्याकी देवी सरस्वतीको पूजा-आराधना गर्नेको उल्लेख्य भिड थियो ।
वैदिक सत्य सनातन धर्मावलम्वीले आज विद्याकी देवी सरस्वतीको निष्ठापूर्वक पूजा आराधना गरेर वसन्त पञ्चमी मनाउँछन् । वसन्त ऋतु प्रारम्भ हुने भएकाले आजको दिनलाई वसन्त पञ्चमीको नामले समेत चिनिन्छ । विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ-आफ्ना कला-साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा-आराधना गर्छन् ।
वसन्त ऋतुको सुरुवात हुने भएकाले वसन्त पञ्चमीसमेत भनिने यस दिन सरस्वतीको पूजा गर्दा बुद्धि-विवेक बढ्ने विश्वास छ । विद्यालय पठाउने उमेर पुगेका बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने प्रचलन छ । आजको दिनदेखि विद्यालय पठाउँदा ज्ञान र बुद्धि धेरै हुने जनविश्वास छ ।
आजको दिन आफैंमा शुभ हुने भएकाले विवाह, व्रतवन्धलगायत सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नु नपर्ने ज्ञाताहरु बताउँछन् । यस दिन बालबालिकाको नाक, कान छेड्ने चलन पनि छ ।
उपत्यकाका स्वयम्भूनाथ, मैतीदेवी, गैह्रीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वती मन्दिरमा बिहानैदेखि पूजाआजा गरिएको छ ।
यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहान विश्वसम्पदा सूचीमा रहेको ऐतिहासिक हनुमानढोका दरबारस्थित नासलचोक पुगेर वसन्त श्रवण गरेका छन् । सो अवसरमा राष्ट्रपति पौडेलले पुजारीबाट फूलमाला, टीका र प्रसाद ग्रहणसमेत गरेका छन् । नेपाल पञ्चाङ्ग निर्णायक समितिले उपलब्ध गराएको बिहान ७ बजेर ५५ मिनेटको शुभसाइतमा उनले वसन्त श्रवण गरेका हुन् ।
वसन्त पञ्चमीको दिन हरेक वर्ष राष्ट्रप्रमुखको रूपमा राष्ट्रपतिले वसन्त श्रवण गर्ने चलन छ । वसन्त श्रवण श्रीमद्भागवत महापुराणको कथामा आधारित भएको मानिन्छ ।
राष्ट्रपतिलाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गर्नुका साथै पञ्चेबाजाले स्वागत गरिएको थियो । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी ओली, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाललगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति थियो । यस्तै सरकारका उच्च अधिकृतका, सुरक्षा अंगका प्रमुखहरू पनि सहभागी थिए ।
यो पनि…
हनुमानढोकास्थित नासलचोकमा राष्ट्रपतिलगायत उच्च अधिकारीहरूद्वारा वसन्त श्रवण (फोटोसहित)