
कैलालीको टीकापुर अस्पतालमा ‘सर्जरी’ सेवा सुरुआत भएपछि बिरामीलाई अन्यत्र जानुपर्ने अवस्थाको अन्त्य भएको छ ।
अस्पतालमा विगत दुई वर्षदेखि शल्यचिकित्सकका विशेषज्ञको सेवा सञ्चालनमा छ । दुई वर्षमा ‘जनरल सर्जन’तर्फ एक हजार तीन सय ७० को शल्यक्रिया भएको छ । अस्पतालमा जटिल प्रकृतिका शल्यक्रिया भएको अस्पतालले जनाएको छ ।
अस्पतालमा श्ययाको सङ्ख्या र परीक्षण गर्ने उपकरण पर्याप्त नहुँदा सोचेजस्तो सेवा दिन नसकेको अस्पताल प्रशासनले जनाएको छ ।
टीकापुर अस्पतालका शल्यचिकित्सक नवीनचन्द्र भट्टले आफ्नो सेवा सुरुआत गरेसँगै अस्पतालमा शल्यक्रिया सेवाको सुरुआत भएको हो । उहाँका अनुसार अस्पतालमा सामान्य, मध्यम र जटिल शल्यक्रियाको सेवा दिने गरिएको छ ।
दुई वर्षको अवधिमा सामान्य शल्यक्रिया छ सय जना गरेको अस्पतालले जनाएको छ । जटिल खालका शल्यक्रियामध्ये ‘एपेन्डिक्स’ फुटेका तीन, स्तनको गाँठागुठी र स्तन क्यान्सरको ३२, पेटमा ‘सिस्ट’ पलाएको चार, बच्चाको ‘हर्जिनोटोमी’ ४२ भएको पनि डा. भट्टले जानकारी गराउनुभयो । यसैगरी हर्निया दुई सय, फिस्टुला ३६, पाइल्स ४५, दिसा गर्ने ठाउँ पाकेको १५, स्तन पाकेको २६, दिसा गर्ने ठाउँ टाइट भएको १८, हाइड्रोसिल जटिल खालको ८४, विरलै देखिने फिमरो हर्नियाका चार लगायतका शल्यक्रिया भएका छन् ।
टीकापुर अस्पतालमा शल्यक्रिया हुन थालेपछि कैलालीको पश्चिम भेग, बर्दिया, सुर्खेत र अछामका बिरामीले राहत पाएका छन् ।