माघ २५ :

गृहमन्त्री रमेश लेखकले सर्लाहीको बरहथवा नगरपालिकाका सत्येन्द्रकुमार राम (चमार) नेहा रौनियारको अन्तरजातीय विवाहमा राज्यपक्षबाट हस्तक्षेप नभएको स्पष्ट पारेका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसदहरुले राखेका जिज्ञासा र प्रश्नहरुको जवाफ दिँदै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् । उनले अन्तरजातीय विवाहको सम्बन्धमा गृह मन्त्रालय गम्भीर रहेको बताए । उनले संविधानले प्रत्याभूत गरेको छुवाछुत तथा भेदभावविरुद्धको हक एवं व्यक्तिका नैसर्गिक मानवअधिकारको रक्षा र त्यसको उपभोग गर्ने वातावरण निर्माणमा सरकार क्रियाशील रहेको दाबीसमेत गरे ।

‘अन्तरजातीय विवाहको सम्बन्धमा म र मेरो मन्त्रालय गम्भीर र अत्यन्तै संवेदनशील छ । नेपालको संविधानले प्रत्याभूत गरेको छुवाछुत तथा भेदभावविरुद्धको हक एवं व्यक्तिका नैसर्गिक मानवअधिकारको रक्षा र त्यसको उपभोग गर्ने वातावरण निर्माण गर्ने कुरामा गृह मन्त्रालय क्रियाशील छ । म अत्यन्त संवेदनशील छु । म कुनै पनि प्रकारको जातीय विभेद र छुवाछुतको विरुद्धमा सधैँ रहनेछु र रहेको छु,’ उनले भने, ‘म आबद्ध रहेको पार्टी नेपाली कांग्रेस जन्मकालदेखि नै जातीय विभेद र छुवाछुतविरुद्ध रहेको पार्टी हो । म अहिले र जीवनभर प्रतिबद्ध रहेको कुरा निवेदन गर्न चाहन्छु । वैयक्तिक स्वतन्त्रता र मानवअधिकार रक्षाका लागि विद्यार्थीकालदेखि लड्दै आएको म अन्तरजातीय विवाहप्रति पूर्वाग्रही भयो भन्नु मेरो जीवन मूल्य र आदर्शको अवमूल्यन हो भन्ने मैले ठानेको छु ।’

अन्तरजातीय प्रेमविवाह गरेकै कारण राज्यबाटै चरम अत्याचार भोगिरहेको भन्दै सत्येन्द्रकुमार र नेहा शान्तिपूर्वक बाँच्ने वातावरण मिलाइदिन याचना गरेको भन्दै समाचार सार्वजनिक गरिएका थिए ।

यो पनि…

प्रतिनिधिसभा बैठक : सर्लाहीमा अन्तरजातीय विवाह घटनाबारे गृहमन्त्रीको जवाफ माग