
सरकारले बजेटको आकार १ खर्ब ६७ करोड रुपैयाँले घटाएको छ ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले बिहीबार प्रतिनिधिसभामा बजेटको अर्धवार्षिक समीक्षा पेस गर्दै चालु आर्थिक वर्षको बजेटको आकार १ खर्ब ६७ करोड रुपैयाँले घटाएका हुन् ।
पूर्वअर्थमन्त्री वर्षमान पुनले चालु आवका लागि १८ खर्ब ६० अर्ब ३० करोडको बजेट ल्याएका थि । तर अर्थमन्त्री पौडेलले चालु आर्थिक वर्षमा विनियोजित बजेटको १६ खर्ब ९३ अर्ब ७३ करोड ३५ लाख मात्रै खर्च गर्ने संशोधित अनुमान रहेको बताए । यो सुरु बजेट अनुमानको ९०.१९ प्रतिशत हो । उक्त रकममध्ये चालु खर्चतर्फ १० खर्ब २९ अर्ब ३० करोड, पुँजीगततर्फ २ खर्ब ९९ अर्ब ५० करोड र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६३ अर्ब ६३ करोड रहेको छ ।
अर्थमन्त्री पौडेलले चालु आर्थिक वर्षमा लक्षित आर्थिक वृद्धिदर हासिल गर्न चुनौतीपूर्ण रहेको बताए । उनले तरलता र न्यून ब्याजदरको सुविधाले आर्थिक वृद्धिदर लक्ष्यको नजिक हुने अनुमान रहेको बताए । उनले बढ्दो अनिवार्य दायित्व र प्राकृतिक विपत्तिले सिर्जित थप दायित्वले बजेट सन्तुलन कायम गर्नु चुनौतीपूर्ण रहेको पनि उल्लेख गरे ।
उनले चालु आर्थिक वर्षको पुससम्म राजस्व परिचालन १२.७ प्रतिशतले बढेको र आर्थिक वर्षको अन्त्यसम्म बजेटको लक्ष्यनजिक पुग्ने अनुमानसमेत गरे । उनले विनियोजनको ९०.९९ प्रतिशत मात्रै बजेट खर्च हुने संशोधित अनुमान प्रस्तुत गरे । उनले चालु खर्चतर्फ १० खर्ब २९ अर्ब ३० करोड मात्रै खर्च हुने अनुमान रहेको बताए ।
चालु आवमा ११ खर्ब ४० अर्ब ६६ करोड बजेट विनियोजन भएको थियो । संशोधित अनुमान ९०.२४ प्रतिशत हो । पुँजीगततर्फ २ खर्ब ९९ अर्ब ५० करोड ९ लाख खर्च हुने संशोधित अनुमान रहेको पौडेलले उल्लेख गरे । उक्त संशोधित अनुमान विनियोजनको ८५ प्रतिशत रहेको छ । वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब २८ करोड विनियोजन भएकोमा ३ खर्ब ६३ अर्ब ९३ करोड २६ लाख खर्च हुने अनुमान रहेको पनि उनले बताए ।
अर्थमन्त्री पौडेलले वर्तमान सरकारले चालु आर्थिक वर्षमा १२ खर्ब ६ अर्ब ९ करोड ११ लाख रुपैयाँ राजस्व परिचालन संशोधित अनुमान गरेको बताए । उनले बजेटले चालु आवमा १२ खर्ब ६० अर्ब ३० करोड राजस्व परिचालन गर्ने लक्ष्य लिएको तर यस्तै आन्तरिक ऋण लक्ष्यअनुसार नै ३ खर्ब ३० अर्ब परिचालन हुने बताए ।
वैदेशिक अनुदान ३६ अर्ब ६२ करोड ६८ लाख मात्रै परिचालन हुने संशोधित अनुमान रहेको पनि उनले बताए । बजेटले वैदेशिक अनुदान ५२ अर्ब ३३ करोड प्राप्त हुने लक्ष्य लिएको थियो । यस्तै वैदेशिक ऋणको लक्ष्य पनि संशोधन गरेको छ । चालु आवमा १ खर्ब ८० अर्ब ८३ करोड ६७ लाख परिचालन हुने संशोधित अनुमान गरेको छ । बजेटले वैदेशिक ऋण २ खर्ब १७ अर्ब ६७ करोड परिचालन गर्ने लक्ष्य लिएको थियो ।