
नेपालको विशेष शिक्षामा विद्यालय-आधारित पाठ्यक्रम लागू गर्न नसकिएको विशेष विद्यालयका प्रधानाध्यापकहरूले नै बताएका छन् ।
सरकारले बनाएको एकिकृत पाठ्यक्रमलाई समेत अनुकुलन गर्न समस्या भईरहेको उनिहरुले बताएका छन् । अन्तर्राष्ट्रिय सहकार्यका लागि लिडिङ विश्वविद्यालय परियोजना लुपिकले बिहिबार किर्तिपुरमा विशेष विद्यालयका प्रधानाध्यापकहरुका लागि विद्यालयमा आधारित पाठ्यक्रमको बिषयमा छलफल गर्न आयोजना गरेको कार्यशालामा सहभागी प्रधानाध्यापकहरुले सरकारले अपाङगता भएका विद्यार्थीहरुका लागि व्यक्तिगत शैक्षिक योजना IEP बनाउनुपर्ने भनिएपनि अहिले सम्म पनि यो योजना कसरी बनाउने भन्ने अन्योलमा विद्यालयहरु रहेको बताएका छन् ।
यस विषयमा शिक्षकहरुलाई तालिम तथा श्रोतको समेत अभाव रहेको उनीहरुको भनाई छ । साथै छलफलमा विकसित देशहरूको उदाहरण अध्ययन गर्ने, अनुसन्धान उपलब्धिहरू साझेदारी गर्ने र नेपालमा विशेष शिक्षाको सुधारका लागि थप अनुसन्धान तथा विकास गर्ने विषयलाई जोड दिईएको थियो । सो अवसरमा दक्षिण कोरियाका पोहाङ म्युन्दो विशेष विद्यालयका प्रधानाध्यापक किम जाए-क्यु र डेगु योङह्वा विशेष विद्यालयका प्रधानाध्यापक किम सुंग-गोनले विद्यालय-आधारित पाठ्यक्रम सञ्चालन र व्यक्तिगत शैक्षिक योजना IEP को प्रयोगबारे अनुभव प्रस्तुत गरेका थिए । उनीहरुले दक्षिण कोरियाको कानुनी र संस्थागत ढाँचा मजबुत भएकाले विद्यालय-आधारित पाठ्यक्रमको विकास र कार्यान्वयन अनिवार्य हुने र IEP लागू गर्दा विशेष शिक्षा अझ प्रभावकारी बन्ने बताए ।
व्यक्तिगत शैक्षिक योजनाले अभिभावकहरूको आवश्यकतालाई समेट्दै, विद्यार्थीहरूको वर्तमान शैक्षिक स्तर, सीप, तथा विशेषताहरूको मूल्यांकन गरी व्यक्तिगत शिक्षण योजना तयार गर्छ। सोही योजनाका आधारमा विद्यार्थीलाई अनुकूल पर्ने शिक्षण गतिविधिहरू प्रदान गरिन्छ। साथै विद्यार्थीहरूको शैक्षिक उपलब्धि तथा प्रगति नियमित रूपमा मूल्यांकन गरिन्छ र त्यसको नतिजा अभिभावकहरूसँग साझेदारी गरिन्छ। विशेष शिक्षा सेवाप्रति सन्तुष्टि बढाउन मद्दत गर्दछ ।
बिशेष स्कुल तथा पुर्नस्थापना केन्द्र SSDRC का प्रधानाध्यापक सविता उप्रेती, केन्द्रिय बहिरा माध्यमिक विद्यालयका प्रधानाध्यापक उपेन्द्र पराजुलीले विशेष विद्यालयको विद्यालय-आधारित पाठ्यक्रमलाई विद्यार्थीहरूको आवश्यकता र विशेषताहरू अनुरूप समायोजन वा परिमार्जन गर्दै लैजानुपर्नेमा जोड दिनुभयो ।
लुपिककका निर्देशक जङ दाए-योङले विद्यालय-आधारित पाठ्यक्रमको पूर्ण कार्यान्वयन र IEP को प्रभावकारी प्रयोग समय लाग्न सक्छ तर अपाङ्गता भएका विद्यार्थीहरूको शिक्षाको अधिकार सुनिश्चित गर्न र अनिवार्य शिक्षालाई सफल बनाउन यसबारे निरन्तर अनुसन्धान र विकास आवश्यक रहेको बताए ।
यस कार्यशालाले विशेष शिक्षामा विद्यालय-आधारित पाठ्यक्रम लागू गरी IEP प्रयोग गर्दा अझ उपयुक्त विशेष शिक्षा प्रदान गर्न सकिने कुरामा विश्वास दिलाएको सहभागी प्रधानाध्यापकहरूले बताएका छन् ।
विकसित राष्ट्रहरूमा अपाङ्गता भएका विद्यार्थीहरूको लागि उपयुक्त विशेष शिक्षा प्रदान गर्न राष्ट्रिय-स्तरको विशेष शिक्षा नीति निर्माण गरिन्छ। यी राष्ट्रिय मापदण्डहरूको आधारमा विशेष विद्यालयहरूले आफ्ना विद्यार्थीहरूको आवश्यकता र विशेषताहरू अनुरूप विद्यालय-आधारित पाठ्यक्रम विकास गरी प्रणालीबद्ध विशेष शिक्षा सेवा प्रदान गर्ने गर्छन्।
पछिल्ला तीन वर्षहरूमा लुपिकलेले आफ्नो नेपाली साझेदारहरूसंग मिलेर नेपालका विशेष विद्यालयहरूमा विद्यालय-आधारित पाठ्यक्रम लागू गर्ने र व्यक्तिगत शिक्षा योजना (IEP) को प्रभावकारी प्रयोगबारे संयुक्त अनुसन्धान गर्दै आएको छ। यस अवधिमा लुपिकले नेपाली विशेष शिक्षकहरूका लागि अनलाइन र प्रत्यक्ष प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नुका साथै केही शिक्षकहरूलाई अध्ययन भ्रमणका लागि कोरिया आमन्त्रण गरी उनीहरूको सीप अभिवृद्धि गर्ने कार्य समेत गरेको छ। हाल नेपालमा लुपिक परियोजनाको नेतृत्व प्रोजेक्ट म्यानेजर किम युनयोङले गरिरहेका छन् ।