काठमाडौँ, साउन ३२ :

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

आज बसेको निगम सञ्चालक समितिको बैठकले शुक्रबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको हो । निगमले पेट्रोलको मूल्य प्रतिलिटर रु पाँच तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु तीन घटाएको जनाएको छ ।

घटेको मूल्यअनुसार पहिलो वर्गमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ६२ दोस्रो वर्गमा एक सय ६४ र तेस्रो वर्गका लागि प्रतिलिटर एक सय ६५ रुपैंया कायम भएको छ ।

साथै डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गका लागि एक सय ५२ दोस्रो वर्गका लागि एक सय ५४ र तेस्रो वर्गका लागि एक सय ५५ कायम गरिएको निगमले जनाएको छ ।

पहिलो वर्गमा चारआली, बिराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज छन् । साथै दोस्रो वर्गमा  सुर्खेत र दाङ  तथा तेस्रो वर्गमा पोखरा, काठमाडौँ, दीपायललाई राखिएको छ ।