काठमाडौं, माघ २६ :

नियमित कारोबारका लागि पाँच कार्य दिन नै खुला रहेको नेप्सेमा यो साता आधा खर्बभन्दा बढीको सेयर किनबेच भएको छ ।

कारोबार खुलेको मध्ये पहिलो र दोस्रो दिन उकालो लागेको नेप्से परिसूचक बाँकी तीन कार्य दिन भने लगातार ओरालो लागेको थियो । यही ओरालोको बीचमा पनि कारोबार रकममा भने खासै गिरावट नआउँदा यो साता आधा खर्ब भन्दा बढीको कारोबार सम्भव भएको हो ।

जसअनुसार नेप्से परिसूचक सातामा २६ सय ९९ दशमलव ८१ विन्दुमा पुग्न सफल भएको छ । सेन्सिटिभ इन्डेक्स पनि चार सय ५४ दशमलव ४७ विन्दुमा पुग्न सफल भएको छ ।

यो साता ३३० कम्पनीको पाँच लाख १६ हजार एक सय ११ पटकको कारोबारमा १० करोड ३३ लाख ९८ हजार ६८ कित्ता सेयर खरिद-बिक्री भएका छन् । जसबाट कुल कारोबार रकम ५१ अर्ब ९५ करोड ७१ लाख १२ हजार ४३ रुपैयाँ कायम भएको छ । यो कारोबार रकम गत साताको तुलनामा झन्डै २४ अर्ब रुपैयाँले बढी हो ।

गत साता यस्तो कारोबार रकम २७ अर्ब ४५ करोड ५४ लाख १७ हजार चार सय ३७ रुपैयाँमा सीमित थियो । गत साता ३२५ कम्पनीको दुई लाख ७७ हजार चार सय ७४ पटकको कारोबारमा पाँच करोड २६ लाख ५४ हजार एक सय ३८ कित्ता सेयर खरिद-बिक्री हुँदा उक्त परिमाणमा रकम कारोबार भएको थियो ।

दैनिक कारोबारको विश्लेषण गर्दा पहिलो दिन नेप्से परिसूचक ६९ दशमलव ८० अंकले बढेर २७ सय २७ दशमलव ५८ विन्दुमा चढेकामा सेन्सिटिभ इन्डेक्स पनि १३ दशमलव ६४ अंकले बढेर चार सय ५८ दशमलव ३७ विन्दुमा पुगेको थियो । दोस्रो दिन पनि नेप्से परिसूचक दुई दशमलव ४१ अंकले बढेर २७ सय ३० विन्दुमा पुगेकामा सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव २३ अंकले बढेर चार सय ५९ दशमलव ६१ अंकमा पुगेको थियो ।

तेस्रो दिन भने नेप्से परिसूचक १४ दशमलव शून्य आठ अंकले घटेर २७ सय १५ दशमलव ९१ अंकमा पुगेकामा सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ४९ अकले घटेर चार सय ५७ दशमलव १२ अंकमा पुगेको थियो ।

चौथो दिन पनि नेप्से चार दशमलव ४५ अंकले घटेर २७ सय ११ दशमलव ४५ अंकमा झरेकामा सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव शून्य सात अंकले घटेर चार सय ५६ दशमलव शून्य चार अंकमा झरेको थियो । पाँचौं दिन नेप्से परिसूचक ११ दशमलव ६४ अंकले घटेर २६ सय ९९ दशमलव ८१ अंकमा झर्दा सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ५६ अंकले घटेर चार सय ५४ दशमलव ४७ अंकमा पुगेको थियो ।

यो साता एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेड, नेपाल पुनर्बिमा कम्पनी, सिन्धु विकास बैंक आदिको बढी रकम कारोबार हुँदा नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेड, नेपाल पुनर्बिमा कम्पनी आदिको बढी संख्यामा सेयर किनबेच भएका छन् । बजार पुँजीकरणका आधारमा यो साता नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अगाडि परेका छन् ।