
अर्थ सहित आज ६ वटा संसदीय समितिका बैठक बस्दै छन्।
बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि महान्यायाधिवक्ता र नेपाल राष्ट्र बैङ्कका गभर्नरसँग छलफल गर्ने कार्यक्रम छ ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान ११ बजे नै बोलाइएको छ । आजको बैठकमा वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई पूर्व प्रस्थान अभिमुखीकरण तालिम प्रदायक संस्थामा वैदेशिक रोजगार विभागबाट भएको अनुगमन तथा कारवाहीका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै बिहान ११ बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको सम्बन्धमा संशोधन प्रस्तावकर्ता सदस्यहरूसँग छलफल गर्ने तयारी छ ।
बिहान ११ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा सामाजिक परिचालिकाहरुको व्यवस्थापन सम्बन्धमा छलफल हुनेछ ।
त्यस्तै दिउँसो २ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ सम्बन्धी उपसमितिको प्रतिवेदन पेस तथा प्रतिवेदन माथि छलफल हुनेछ ।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि बिहान ११ बजे बस्दै छ । बैठकमा सरकारको नीति तथा कार्यक्रम २०८०-०८१ र बजेट वक्तव्य २०८०-०८१ मा व्यक्त वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित विषयको कार्यान्वयनको अवस्था र उपलब्धिहरूका सम्बन्धमा मन्त्रालयसँग छलफल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।