काठमाडाैं, माघ २७ :

आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालले धार्मिक आस्थालाई क्षति नपुर्‍याई पाथीभरामा केबलकार बनाउन लागिएको बताएका छन् ।  

काठमाडौँमा पत्रकार सम्मेलन गर्दै ढकालले केबलकार मन्दिरछेउँमै पुर्‍याउने नभई ७०० मिटर टाढा टप स्टेसन रहने बताए । पाथीभरामा कुनै पाँचतारे होटेल नभई टप स्टेसनमा अक्सिजनसहितको आधारभूत स्वास्थ्य संस्थाबाहेक अरू पूर्वधार केही नहुने प्रस्ट्याए ।

अधिकांश स्थानीय केबलकार बन्नुपर्छ भन्ने पक्षमा रहेको बताउँदै ढकालले अहिले काम गरिरहेका श्रमिकलाई रोजगारी ग्यारेन्टी गर्ने प्रतिबद्धता जनाए ।  कतिपयले मन्दिरको भेटीमा चन्द्र ढकालले आँखा लगाएको भन्ने भ्रम फैलाइएको भन्दै आपत्ति जनाए ।

केबलकार निर्माणको कुल लागत करिब ३ अर्ब रुपैयाँ रहेको र हालसम्म पूर्वतयारीका काम सकिएको बताए । अहिले विरोध गर्नेहरू स्थानीय नभएको उनको दाबी थियो । मौलाकाली केबलकार निर्माण भए पनि हिँडेर जान सकिने बाटोहरू कायमै रहेकोले पाथीभरामा पनि त्यही गरिने ढकालले बताए ।