मनाङ, माघ २८ :

जिल्लाको चामे गाउँपालिका- १ तिमाङ जङ्गलमा लागेको डढेलो १० दिनसम्म पनि नियन्त्रण हुन सकेको छैन । 

यही माघ १८ गते बेलुकीदेखि लागेको डढेलो जटिल भूगोलका कारण नियन्त्रण गर्न नसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

तिमाङ जङ्गलमा लागेको डढेलो जटिल भौगोलिक संरचनाका कारण नियन्त्रणमा लिन नसकिएको प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले जानकारी दिए । उनका अनुसार डढेलो नियन्त्रणका लागि जिल्लाका सबै सुरक्षा संयन्त्र परिचालन गरिएको छ ।  

स्थानीयवासी पनि सक्रिय भएर जङ्गलमा खटिएका छन्, तर हालसम्म नियन्त्रणमा लिन नसकिएको उनले बताए । डढेलो समयमा नियन्त्रणमा लिन नसक्दा जङ्गलमा रहेका भेडा, च्याङ्ग्रा, याक, चौँरीका चरन क्षेत्र नष्ट भएका छन् ।

“आगलागी बस्तीभन्दा टाढाको जटिल भूगोलमा लागेको छ, हावा चल्ने भएकाले पनि डढेलोको जोखिम बढ्न सक्ने अवस्था छ”, प्रजिअ आचार्यले भने, “साथै राष्ट्रको गहनाका रूपमा रहेका राष्ट्रिय पन्छी डाँफेको बासस्थान र कोपिला लागेको लालीगुँरासको बोट नष्ट भएका छन् ।” जानसक्ने स्थानसम्म पुगेर सुरक्षाकर्मी र स्थानीयले डढेलो निभाउने प्रयास गरिरहेका छन् । 

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका कार्यालयका प्रमुख ढकबहादुर भुजेलले हिउँ पर्ने स्थानमा हिउँ नपर्नु र सुख्खा बढी भएकाले आगो नियन्त्रणमा लिन नसकिएको बताए ।