
खोटाङ, भदौ १ :
पहिरोले पुरेर शिक्षिकाको मृत्यु भएको शोकमा खोटाङको रावा बेसी गाउँपालिकाले आज शोक बिदा दिएको छ ।
शुक्रबार गाउँपालिकाको कार्यालय र यस अन्तर्गतका सबै कार्यालयहरूमा शोक बिदा दिने निर्णय भएको गाउँपालिकाका अध्यक्ष फटिक कुमार श्रेष्ठले बताउनुभयो । बिहीबार बिहान विद्यालय जाँदै गर्दा रावा बेसी गाउँपालिका- ३ लामिडाँडाकी सावित्रीदेवी नेवारको पहिरोले पुरिएर मृत्यु भएको थियो ।
विश्वज्योति मावि लामिडाँडामा कार्यरत शिक्षिका नेवारलाई वडा कार्यालय नजिकै पहिरोले पुरेको थियो । शिक्षिका सावित्रीदेवीलाई प्रहरी र स्थानीयले पहिरो खनेर मृत अवस्थामा निकालेका थिए ।
विद्यालय जाँदै गर्दा पहिरोले पुरेर शिक्षिकाको असामयिक निधन भएकाले दुःख व्यक्त गर्दै शोक बिदा दिइएको गाउँपालिकाले जनाएको छ ।