
सामुदायिक वनमा आगो लगाउने दुई जना पक्राउ परेका छन् ।
पर्वतको कुश्मा नगरपालिका- १४ आर्थर डाँडाखर्कस्थित ठुलाढुङ्गा सामुदायिक वनमा आगो लगाएको आरोपमा प्रहरीले कुश्मा- १४ कै बगाल थोकका २६ वर्षीय सुवास पौडेल र ३१ वर्षीय रमेश पौडेललाई पक्राउ गरेको हो ।
पौडेलद्वयले गत माघ २९ गते वनमा आगो लगाएका थिए । वनमा आगो लगाउँदा वनजङ्गल, वन्यजन्तुको बासस्थान नष्ट हुनुका साथै नजिकको बस्तीसमेत जोखिममा परेको भन्दै स्थानीयले खबर गरेपछि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक निरबहादुर बानियाँले जानकारी दिए ।
पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय पर्वत पठाइएकामा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी पुनः प्रहरी हिरासतमा राखिएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बानियाँले बताए ।
पर्वतमा गत वर्ष ७० वटा सामुदायिक वनमा आगालागी भएको थियो । यस वर्ष गत माघदेखि आगालागीका घटना बढ्न थालेको डिभिजन वन कार्यालयले जनाएको छ ।
यसपटक दोषीलाई खोजी गरेर कारबाही गर्न थालिएको डिभिजन वन कार्यालयका प्रमुख झ्यामनारायण सापकोटाले बताए ।