काठमाडौं, फागुन २ :

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को अध्यक्षमा डा.बाबुराम भट्टराई निर्वाचित भएका छन्। त्यस पार्टीको पहिलो महाधिवेशनबाट भट्टराई पुनः अध्यक्षमा दोहोरिएका  हुन् । अध्यक्षका अर्का प्रत्यासी नेत्रप्रसाद चापागाईँ भने धेरै मतान्तरले पराजित भएका छन् । 

८२२ मत खसेकोमा चापागाईँले ७१ मत पाएका थिए। यद्यपि प्रवासको केही मत जोड्न बाँकी रहेको छ। ९९ सदस्यीय केन्द्रीय समितिमा पदाधिकारीसहित ७९ पदका लागि मतदान भएको थियो । यसअघि दुई उपाध्यक्षसहित २० केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् । 

महिला उपाध्यक्षमा मानुषी यमी भट्टराई पनि निर्विरोध निर्वाचित भइसकेकी हुन् । माघ २९ गते नेतृत्व चयनका लागि मतदान भएको थियो । अन्तिम मतपरिणाम अहिले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने नेसपा (नयाँ शक्ति) ले जनाएको छ ।