
मधेस प्रदेश सरकारले विद्यालय शिक्षकको अभाव सम्बोधन गर्न प्रदेश स्वयंसेवक शिक्षक परिचालन गर्ने भएको छ ।
माध्यमिक विद्यालयमा अङ्ग्रेजी, विज्ञान, नेपाली र गणित विषय शिक्षकको अभाव टार्न मधेस प्रदेश सरकारले तत्काल नै प्रदेश स्वयंसेवक शिक्षक परिचालन गर्ने मुख्यमन्त्री सतिशकुमार सिंहले बताए ।
“विद्यालयमा पछिल्लो एक दशकभित्र शिक्षकको नयाँ दरबन्दी भएको छैन, यस कारणले थुप्रै सामुदायिक विद्यालय शिक्षक अभाव खेप्दैछन्”, मुख्यमन्त्री सिंहले भने, “यही अभाव तत्कालै पूर्ति गर्न प्रदेश सरकारले स्वयंसेवक शिक्षक परिचालन गर्ने तयारी अघि बढाएको हो ।” यो कामले विद्यालयमा विषयगत शिक्षकको कमीलाई तत्काल परिपूर्ति गर्ने विश्वास लिइएको उनले बताए ।
सामुदायिक विद्यालयका शिक्षक सेवानिवृत्त हुँदै जाने र नयाँ दरबन्दी व्यवस्थापन नहुँदा यहाँको पठनपाठन नराम्ररी प्रभावित गरेको अवस्थालाई तत्काल सम्बोधन गर्न प्रदेश स्वयंसेवक शिक्षकको व्यवस्था गर्ने तयारी बढाइएको हो । यस प्रयोजनका लागि प्रदेशको शिक्षा तथा संस्कृति मन्त्रालयले एक सय ३२ जना स्वयंसेवक शिक्षकको दरखास्त आह्वान गरिसकेको छ ।
यस चरणमा प्रदेशका नमूना विद्यालय र शिक्षक अभाव भएका माध्यमिक विद्यालयमा प्राथमिकता निर्धारण गरेर शिक्षक पठाइने मन्त्रालयको तयारी छ ।