काठमाडौं, फागुन ३ :

नेपाली कांग्रेसले पार्टीका ७७ वटै जिल्ला सभापतिहरूलाई पार्टीको भ्रातृ संगठनको अधिवेशन सम्पन्न गराउन आवश्यक सहयोग गर्न भन्दै परिपत्र गरेको छ ।

कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सबै जिल्ला सभापतिहरुलाई भ्रातृ संगठनको जिल्ला अधिवेशनमा आवश्यक सहयोग, समन्वय र सहजीकरणका लागि निर्देशन दिएका हुन् ।

महाधिवेशन हुन बाँकी रहेका भ्रातृ संस्थाहरूको केन्द्रीय महाधिवेशन आगामी चैत मसान्तभित्र गर्ने नेपाली कांग्रेसको निर्देशनानुसार नेपाल किसान महासंघ, केन्द्रीय तदर्थ समितिले २०८१ फागुन ७ गते महासंघको सबै जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको उल्लेख छ ।

परिपत्रमा भनिएको छ, ‘नेपाल किसान महासंघको जिल्ला अधिवेशन सम्पन्न गर्नका लागि नेपाली कांग्रेस जिल्ला कार्यसमितिको तर्फबाट आवश्यक सहयोग, समन्वय र सहजीकरण गरिदिनु हुनका लागि निर्देशनानुसार अनुरोध गरिन्छ ।’ कांग्रेसले सबै भ्रातृ संगठनको चैत मसान्तभित्र अधिवेशन गरिसक्ने निर्णय गरेको छ ।