
राष्ट्रिय रनिङ सिल्ड दोहोरीगीत प्रतियोगिताको आठौं संस्करण फागुन १७ गतेबाट २० गतेसम्म हुने भएको छ ।
चितवनमा शनिबार पत्रकार सम्मेलन गरी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले यसबारे जानकारी दिएको हो । फागुन १७ गतेबाट २० गतेसम्म चितवनको सुन्दरनगरी भरतपुर नगरपालिका १० स्थित वीरेन्द्र क्याम्पसको डिग्री भवनको खेलमैदानमा आयोजना हुने प्रतिष्ठानकी अध्यक्ष रीता थापामगरले जनाइन् ।
उनका अनुसार प्रतियोगितामा प्रथम पुरस्कार ३ लाख, द्वितीय पुरस्कार २ लाख, तृतीय पुरस्कार १ लाख र सान्त्वना पुरस्कार ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । अध्यक्ष थापामगरले भनिन्, ‘प्रतियोगी कलाकारहरु मध्येबाट उत्कृष्ट गायक, उत्कृष्ट गायिका, उत्कृष्ट वेशभूषा, उत्कृष्ट नवगायक, उत्कृष्ट नवगायिकालाई समेत आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ ।’
आठौं राष्ट्रिय रनिङ सिल्ड दोहोरी गीत प्रतियोगितामा पचास लाख नेपाली र नेपालीभाषी दर्शकले अवलोकन गर्ने अपेक्षा आयोजकको छ ।
