तनहुँ, फागुन ५ :

दुई जिल्ला जोड्ने कृष्णमार्ग स्तरोन्नतिका लागि सङ्घ सरकारबाट १० करोडको बजेट सुनिश्चित भएको छ ।

तनहुँ र पाल्पा जोड्ने उक्त मार्ग स्तरोन्नतिका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट १० करोड बजेट विनियोजन भएको हो । 

उक्त सडकका लागि बजेट उपलब्ध गराउन घिरिङ गाउँपालिकाले सङ्घीय सरकारलाई माग गरेको थियो ।  नेकपा (एमाले) राष्ट्रिय सभाका प्रमुख सचेतक भगवती न्यौपानेले लामो समयदेखि अलपत्र रहेको उक्त मार्गमा बजेट सुनिश्चित भएपछि अब कामले गति लिने बताए । 

आर्थिक वर्ष २०७६/ ७८ मा उक्त सडकका लागि निर्वाचन क्षेत्र रणनीतिक कार्यक्रमअन्तर्गत ४० करोड बजेट परेको थियो । तनहुँको घिरिङ गाउँपालिकाको धेनुङ देउरालीबाट पाल्पाको केलादीघाट जोड्ने उक्त सडकअन्तर्गत पर्ने घिरिङ गाउँपालिकामा २५ किलोमिटर खण्ड अलपत्र छ । १५ महिनामा निर्माण सक्ने गरि विसं २०७३ वैशाख २३ गते निर्माण कम्पनीसँग सम्झौता भएकामा उक्त सडक विविध कारण हालसम्म अलपत्र बनेको घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले बताए ।