काठमाडौं, फागुन ५ :

बूढानीलकण्ठ आश्रममा स्वामी चन्द्रेसको चर्चा गरिएको छ ।

मोडर्न कन्या कलेजका अध्यक्ष एवं वरिष्ठ साहित्यकार तथा शिक्षाविद् डा. रामप्रसाद दाहालको प्रमुख आतिथ्यतामा स्वामी चन्द्रेसको स्मरण कृतिमाथि समीक्षा तथा विशेष कवि गोष्ठी कार्यक्रम गरिएको छ ।

डा. दाहालले स्वामी चन्द्रेसले कला साहित्य शिक्षा र संस्कृतिको पाटोमा पुर्याएको योगदान र उनले नै स्थापना गरिएको बूढानीलकण्ठ आश्रमको महत्त्वमाथि प्रकाश पारेका थिए ।

आश्रमका संरक्षक गुञ्जन ब्रह्मचारीले स्वागत गरेको कार्यक्रममा डा.भारद्वाज मित्र, डा. भागवत ढकाल र डा.शशि थापा पण्डितले स्मृति ग्रन्थमाथि समीक्षा गरेका थिए ।

कपिल र वासुदेवले भजन गायन, श्रीश भण्डारीले गीता लोक भाष्यमाथि टिप्पणी, त्रिलोचन आचार्यले वाचित कवितामाथि टिप्पणी र रामबोल भण्डारीले बाँसुरी बजाएर स्वामीको संस्मरण गरेका थिए ।

कार्यक्रममा वरिष्ठ कविहरु संगीता खरेल, बमबहादुर थापा जिताली, द्वारिका कुइँकेल, राधा दुलाल कार्की, तारा केसी, साक्षी घिमिरे, जीवन सुवेदी, ब्रमप्रिय प्रेमस्वरूप, त्रिलोचन आचार्यले कविता वाचन गरेका थिए । २१ जना कविले कविता वाचन गरेको कार्यक्रममा साहित्य कला र संगीतका त्रिवेणी स्वामी चन्द्रेसको योगदानको चर्चा गरिएको थियो ।

साहित्यकारहरूको जमघट भई सिर्जना वाचनमार्फत चन्द्रेसको व्यक्तित्वमाथि प्रकाश पारिएको थियो । कार्यक्रममा कवि प्रा. मुकुन्दराज दाहालसहित वरिष्ठ र विशिष्ट साहित्यकारहरुको उपस्थिति थियो । कार्यक्रम कवि ठाकुर शर्माको सभापतित्वमा सम्पन्न भएको थियो । सर्वोत्कृष्ट विद्यार्थीका कवितामध्ये चार कविलाई नगदसहित प्रमाणपत्र प्रमुख अतिथि डा. दाहालले प्रदान गरेका थिए ।