काठमाडौँ, भदौ ३ :

निर्वाचन आयोग स्थानीय तहमा रिक्त रहेका पदाधिकारीको उपनिर्वाचनको तयारीमा जुटेको छ। आयोग मङ्सिर तेस्रो साता उपनिर्वाचन गर्ने गरी आन्तरिक तयारीमा जुटेको हो।

आयोगका प्रवक्ता रघुराम विष्टले निर्वाचनको मितिबारे सुझाव दिने, मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्ने, निर्वाचनमा लाग्ने खर्चको विश्लेषण गरी सरकारसमक्ष बजेट सुनिश्चितताको प्रयास गर्ने जस्ता तयारीका काम भइरहेको जानकारी दिनुभयो। 

निर्वाचन आयोगले गत साउन २८ गते प्रधानमन्त्रीसँगको छलफलमा मङ्सिर तेस्रो साता उपनिर्वाचन गर्न सरकारलाई सुझाव दिएको थियो । स्थानीय तह निर्वाचन ऐन- २०७३ मा आयोगको सुझावमा सरकारले उपनिर्वाचनको मिति घोषणा गर्ने व्यवस्था रहेको छ। 

आयोगले रिक्त रहेका स्थानीय तहलाई लक्षित गरी मतदाता नामावलीमा नाम दर्ता गर्न यसअघि नै आह्वान गरिसकेको छ। 

आयोगका अनुसार गाउँपालिकाका अध्यक्ष दुई जना, उपाध्यक्ष दुई जना तथा प्रमुख र उपप्रमुख एक एक जना र २९ वडाध्यक्ष गरी ३५ पद रिक्त रहेका छन्।

कोशी प्रदेश अन्तर्गतको ग्रामथान गाउँपालिकाका अध्यक्ष र कर्णालीको महाबु गाउँपालिकाका अध्यक्षको पद रिक्त छ। त्यसै गरी बागमतीको गौरीशङ्कर गाउँपालिकाका उपाध्यक्ष र सुदूरपश्चिमको स्वामीकार्तिक खापर गाउँपालिकाका उपाध्यक्ष पद रिक्त छ। 

त्यस्तै, कीर्तिपुर नगरपालिकाका प्रमुख र कर्णालीको नलगाड नगरपालिकाका उपप्रमुख गरी पालिकाका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षको छ पद रिक्त रहेको आयोगले जनाएको छ। आजको गोरखापत्रमा खबर छ ।