
नेकपा एमालेका सांसद सूर्यबहादुर थापा क्षेत्रीले पत्रकारहरुले संविधान, कानुन, पत्रकार आचारसंहिता, सामाजिक शिष्टाचारलाई ध्यान नदिई गैरजिम्मेवार प्रश्न सोध्न मिल्छ कि मिल्दैन ? भनेर संसद्मै प्रश्न गरेका छन् ।
उनले प्रधानमन्त्री केपी ओलीमाथि पत्रकारहरुले आइतबार सोधेको प्रश्नमा आपत्तिसमेत जनाएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा एमाले सांसद् थापाले मिडिया म्यानेजमेन्ट गर्नेतिर संसद् सचिवालय लाग्नुपर्नेमा जोड दिए । उनले संसद् सचिवालयले संविधान, कानुन र पत्रकार आचारसंहिताबमोजिम सञ्चारमाध्यमलाई व्यवस्थित गर्नुपर्ने धारणा राखे ।
‘मिडिया व्यवस्थापन संसद्को कस्तो छवि बनाउने भन्ने विषयसँग अभिन्न रुपमा जोडिएको छ । सांसदहरुलाई कस्ता प्रश्न सोध्ने ? ती प्रश्न संविधान, कानुनबमोजिम हुनुपर्छ कि पर्दैन ? ती प्रश्नमा पेड मिडियाको भूमिका खेल्नेगरी कसैद्वारा परिचालित ढंगले आरोपित गर्ने गरी प्रश्न गर्न पाइन्छ कि पाइँदैन ? हिजो प्रधानमन्त्रीलाई लक्षित गरी सोधिएको प्रश्नप्रति मेरो ध्यानाकर्षण भएको छ । प्रधानमन्त्रीज्यू यहाँबाट प्रश्नोत्तर कार्यक्रमबाट बाहिरिँदा तपाईं हिटलर हो भनेर प्रश्न गरियो,’ सदनमा सांसद थापाले भने, ‘नेपालको संसद्ले बनाएको बनाएको प्रधानमन्त्री हिटलर हुन्छ सभामुख महोदय ? संसद् सचिवालयको अनुमतिले रिपोर्टिङमा आएका मिडियाका साथीहरुले संविधान, कानुन, पत्रकार आचारसंहिता, सामाजिक शिष्टाचारलाई ध्यान नदिई गैरजिम्मेवार प्रश्न सोध्न मिल्छ कि मिल्दैन ? म यो कुरा सोध्न चाहन्छु । मिडिया म्यानेजमेन्ट गर्नेतिर संविधान, कानुन र पत्रकार आचारसंहिताबमोजिम व्यवस्थित गरियोस् भनेर अनुरोध गर्न चाहन्छु ।’
आफूलाई एकजना मिडियाकर्मीले बुम तेर्स्याएर ‘तपाईं हनुमान हो’ भन्दै प्रश्न सोधेकामा पनि उनले आपत्ति जनाए । उनले प्रतिप्रश्न गर्दै भने, ‘मलाई नै एकजना मिडियाकर्मीले बुम तेर्स्याएर तपाईं हनुमान हो भनेर प्रश्न गर्नुभयो । सांसदहरुलाई यस्ता प्रश्न गर्न पाइन्छ कि पाइन्न ?’
उसो त सांसद थापा पनि पत्रकारिता क्षेत्रबाटै राजनीतिमा आएका हुन् । उनले पत्रकारितालाई मर्यादित बनाउनुपर्ने भन्दै सदनमा आक्रोश व्यक्त गरे ।