
देशभर २० हजारभन्दा बढी अनुचित लेनदेनका उजुरी रहेको गृह मन्त्रालयले जनाएको छ ।
मन्त्रालयमा सोमबार पत्रकार सम्मेलन गर्दै मन्त्रालयले यसबारेमा जानकारी दिएको हो । मन्त्रालयका प्रवक्ता एवं सहसचिव रामचन्द्र तिवारीले २० हजारभन्दा बढी अनुचित लेनदेनका उजुरीहरु अहिले पनि रहेको बताए । उनले उजुरीहरुलाई फर्स्योट गर्ने कुरामा मन्त्रायले तीव्रताका साथ कम गरिरहेको बताए ।
‘बेरुजु फर्स्योटलाई अहिले मन्त्रीज्यूले बेरुजु लामो समय राख्नु हुन्न भन्ने निर्देशन छ । त्यही निर्देशनअनुसार काम साथीहरुले गरिरहनुभएको छ । अहिलेसम्म ५० प्रतिशत यो वर्ष बेरुजु फर्स्योट भएको छ । यसलाई अब जिरो बनाउने भन्ने छ । अहिले पनि हामीसँग २० हजार भन्दा बढी अनुचित लेनदेनका उजुरीहरु छन्,’ उनले भने, ‘यी उजुरीहरुलाई सर्टिङ गर्ने कुरालाई तीव्रता दिने भनेर अहिले मन्त्रीज्यू, सचिवज्यू र प्रहरी महानिरीक्षकज्यू लागिरहनुभएको छ ।’
त्यस्तै सहकारी ठगीका मुद्दा आव ०८१/०८२ को माघ २४ गतेसम्म ४८ वटा दर्ता भएको बताए । उनले ४३ जना पक्राउ पर्नुका साथै ५ अर्बभन्दा बढीको बिगो रकम माग दाबी गरिएको बताए । सहकारीसम्बन्धी मुद्दामा ३५० जना मानिस फरार रहेको उनको भनाइ छ । मन्त्रालयले बेरुजु फर्स्योटलाई शून्य बनाउन काम गरिरहेको पनि उनले बताए ।
‘०७९/८० मा ११ अर्ब बिगो दाबी गरेर ९३ वटा मुद्दा विभिन्न जिल्लामा सहकारी ठगीका छन् । २०८ जना पक्राउ परेका थिए भने ५५३ जना फरार थिए । ०८०/८१ मा पनि १०१ मुद्दा दर्ता भएका छन् । २९४ जना मानिस पक्राउ परेका छन्,’ उनले भने, ‘८७० भन्दा बढीप्रति अभियोजना गरिएको छ । ११ अर्ब ६८ करोडभन्दा बढी रकम माग दाबी गरिएको छ । ०८१/८२ को माघ २४ गतेसम्म ४८ वटा मुद्दा दर्ता भएका छन् । ४३ जना पक्राउ परेका छन् । ३५० जना मानिस फरार छन् । ५ अर्बभन्दा बढीको बिगो रकम माग दाबी गरिएको छ ।’
उनले सडक दुर्घटना, आत्महत्या, लागुऔषध दुर्व्यसन, साइबर अपराधका घटनाहरु अत्याधिक बढेको र सरकारले नियन्त्रणका लागि काम गरिरहेको बताए ।