सुर्खेत, भदौ ३ :

पहिरोले भेरी करिडोरअन्तर्गत छिन्चु- जाजरकोट सडक अवरुद्ध भएको छ । शुक्रबार बेलुकी परेको पानीले छेडागाड नगरपालिका र भेरी नगरपालिका अन्तर्गत ठाउँ- ठाउँमा पहिरो गएपछि सडक अवरुद्ध भएको जाजरकोट जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

करिडोरअन्तर्गतको भेरी नगरपालिका- १३ कुदुबाट वडा नं ४ को खहरेखोला भिर र छेडागाड नगरपालिका- १२ कालापहाड नजिक पहिरो खसेर सडक अवरुद्ध भएको हो । भेरी नगरपालिका- ११ स्थित खोदाखोला नजिक पनि खसेको पहिरोले  सडक अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख पुरुषोत्तमप्रसाद पाण्डेले छिन्चु- जाजरकोट सडक अन्तर्गत छेडागाड नगरपालिका- १२ काडला पहाडबाट तल्लु बगरसम्मको सडकका ठाउँठाउँमा पहिरो खसेकाले सडक अवरुद्ध भएको बताउनुभयो ।

केही स्थानमा पहिरो हटाए पनि शनिबार बिहान फेरि कुदु र मटेलामा पहिरो खसेका कारण अहिले करिडोरभित्रको छिन्चु- जाजरकोट सडक अवरुद्ध बनेको प्रहरी प्रमुख पाण्डेले जानकारी दिनुभयो ।

सडक डिभिजन कार्यालय आज बिहानैदेखि पहिरो पन्छाउन जुटेको छ । चन्दननाथ गण मालिका ब्यारेक क्षेत्रमा झरेको पहिरो पनि पन्छाउन थालिएको छ । पर्याप्त उपकरणको अभावमा सबैतिर समयमै बाटो खुलाउन समस्या भएको प्रहरीले जनाएको छ । आज बिहानैदेखि भारी वर्षा भइरहेकाले थप समस्या भएको जनाइएको छ।