सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार प्रदेश सुदूरपश्चिम प्रदेश

ज्यालामा विभेद भोगेपछि पार्वती बनिन् ठेकेदार

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ७ फागुन, २०८१ मा प्रकाशित
ज्यालामा विभेद भोगेपछि पार्वती बनिन् ठेकेदार
कञ्चनपुर, फागुन ७ :

पहिला दिनभर मजदुरी गरेर पाँच सय ज्याला पाउने कञ्चनपुरको वेदकोट नगरपालिका- ५ धरपुरकी पार्वती डगौराले पछिल्लो समय दैनिक एक हजार आम्दानी गर्न थालेकी छिन् ।
    
घर तथा विभिन्न संरचना निर्माणमा पुरुषसरह मजदुरी गर्दा पनि महिला भएकाले ज्याला कम पाउन थालेपछी पार्वतीले आफैँ घर निर्माणको ठेक्का लिने योजनासहित मिस्त्रीको काम सकिन् ।

“दिनभर पुरुषसरह मजदुरी गर्दा पनि ज्याला कम पाउन थालेपछी आफैँ मिस्त्रीको काम गर्ने र घर निर्माणको ठेक्का लिने योजना बनाएँ”, पार्वतीले भनिन्, “दातृ निकायको सहयोगमा मैले वडा कार्यालयमा राज मिस्त्रीको तालिम लिएँ ।” उनले वडा कार्यालय र निड्स नेपाल कञ्चनपुरको दिगो आम्दानी तथा महिला सशक्तीकरण परियोजनाको सहयोगमा ६० दिने राज मिस्त्रीको तालिम लिएको बताइन् ।
 
“सुरुमा मजदुरी गर्थे दिनको  पाँच सय मात्रै ज्याला पाउँथे । अहिले आफै घर निर्माणको ठेक्का लिन थालेकी छु”, डगौराले भनिन्, “अहिले आफूले मिस्त्रीको काम गर्दा दैनिक एक हजार आम्दानी हुन्छ ।” राज मिस्त्रीको तालिम सकिनेबित्तिकै गाउँमा एउटा घर निर्माणको ठेक्का मिलेको उनको भनाइ छ । 

“मजदुरी गरेर मात्रै घरखर्च धान्न गाह्रो भयो अब आफैँ मिस्त्रीको काम गर्नुपर्छ भनेर हिम्मत गरेँ”, उनले भनिन्, “मैले महिला पुरुष दुवैको ज्याला समान गरेकी छु । आफूले भोगेको जस्तो ज्यालामा विभेद गरेको छैन ।”

पार्वतीले गाउँमै तीन वटा घरको ठेक्का लिएर निर्माण सम्पन्न गरिसकेको बताइन् । एउटा घरको काम नसकिँदै अर्को घरको ठेक्का पाउने गरेको उनको भनाइ छ । “अहिले धेरै सजिलो भएको छ ठेक्का पाइराखिएको छ”, उनले भनिन्, “पहिला मजदुरीमा जाँदा थोरै ढिला भए पनि ठेकेदारले फर्काइदिन्थ्यो ।”   

 “यहाँ ज्यालामा धेरै विभेद छ, एउटै कामको ज्यादा पुरुषलाई बढी छ महिलालाई कम दिइन्छ”, उनले भन्नुभयो, “यो विभेद अन्त्य गर्नका लागि पनि मैले हिम्मत गरेर तालिम लिएर आफैँ घर निर्माणको ठेक्का लिन थालेकी हुँ”, अहिले अरु महिलालाई रोजगारी दिएको उनले बताइन् । 

निड्स नेपाल कञ्चनपुरले दिगो आम्दानी तथा महिला सशक्तीकरण परियोजनाअन्तर्गत कञ्चनपुरको वेदकोट र कृष्णपुर नगरपालिकामा परियोजना सञ्चालन गरेको छ । 

परियोजनाअन्तर्गत महिलाको आयआर्जनमा सुधार क्षमता विकासका लागि तालिम र उनीहरूको आवश्‍यकता अनुसारको उद्यममा सहयोग गरेको परियोजना संयोजक हेमन्त शाहीले बताए । परियोजनाअन्तर्गत १३ प्रकारका उद्यममा एक सय २३ जना प्रत्यक्ष लाभान्वित छन्

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार