ताप्लेजुङ, फागुन ९ :

ताप्लेजुङमा ‘नो केबलकार समूह’ र प्रहरीबीच झडप भएको छ । 

पाथीभरामा केबलकार निर्माणको विरोध गर्दै आएको समूहले बिहीबार ठूलो फेदीबाट पदयात्रा निकाल्दै केबलकार निर्माणस्थलतर्फ जाँदै गर्दा नेपाल प्रहरी र सशस्त्र प्रहरीले रोक्न खोजेपछि झडप भएको हो ।

झडपमा सुरक्षाकर्मीसहित १२ जना घाइते भएका छन् । घाइते हुनेमा ११ जना सुरक्षाकर्मी र एक जना आन्दोलनकारी छन् । स्थितिलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीले ७ सेल अश्रुग्यास प्रहार गरेको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए ।

राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोको नेतृत्वमा पाथीभरामा केबलकार निर्माणको विरोध गर्न जाँदै थिए ।महतोसहितको टोलीले केवलकार निर्माण स्थलमा रहेका सुरक्षाकर्मीमाथि आक्रमण गरेको शर्माले बताए। 

उनीहरु निर्माणस्थलमा प्रवेश गरेर ढुंगामुडा गर्न थालेपछि झडप भएको हो ।घाइतेलाई उद्धार गर्न गएको एम्बुलेन्समाथि पनि ढुंगामुडा प्रहार भएको बताइएको छ । 

पाथीभरा क्षेत्रमा केबलकार बनाउँदा ऐतिहासिक पहिचान मेटिने भन्दै मुक्कुम्लुङ संयुक्त संघर्ष समिति मुक्कुम्लुङ केबलकार खारेजी संघर्ष समिति बनाएरै चरणबद्ध आन्दोलन गर्दै आएको छ ।

तर,  त्यहाँका स्थानीय बासिन्दाहरु भने केबलकार बनाउनुपर्छ भन्ने पक्षमा छन् । उनीहरुले दैनिकजसो सभावना र्‍याली निकाल्ने गरेका छन् । धार्मिक क्षेत्रलाई असर नपर्ने गरी केबलकार बनाउनुपर्छ भन्नेमा उनीहरु छन् । आन्दोलनरत पक्ष र सरकारीपक्षबिच वार्ता भए पनि सहमती जुट्न सकेको छैन।

र यो पनि…

एक पक्षको विरोध अर्को पक्षको समर्थन