काठमाडौं, फागुन १० :

सेयर बजारको नियमित कारोबार कक्ष यो साता चार कार्यदिन मात्र खुला थियो । चौथो कार्य दिन बुधबार सार्वजनिक बिदा परेका कारण नेप्सेको नियमित कारोबार कक्ष बन्द थियो ।

कारोबार खुलेको मध्ये चार कार्य दिन नै लगातार नेप्से उकालो लागेपछि लगानीकर्ताहरु हौसिए । सँगै नेप्से परिसूचकले पनि २७ सय विन्दुको उकालो यात्रा तय गरेको छ । यो साता नेप्से २,७४३.७४ विन्दुमा पुगेर रोकिएको छ । (क) वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ४५७.९८ अंकमा पुगेर रोकिएको छ ।

यो साता ३१४ कम्पनीको तीन लाख ८४ हजार नौ सय ५१ पटकको कारोबारमा सात करोड २९ लाख ३२ हजार नौ सय १६ कित्ता किनबेच भएका छन् । जसबाट कुल कारोबार रकम ३८ अर्ब ५८ करोड ४६ लाख ५६ हजार नौ सय १३ रुपैयाँ कायम भएको छ । यो कारोबार रकम झन्डै गत साताकै बराबरको हो ।

गत साता ३९ अर्ब २४ करोड ४३ लाख २२ हजार एक सय ६९ रुपैयाँको सेयर किनबेच भएको थियो । ३२२ कम्पनीको तीन लाख ९२ हजार नौ सय २६ पटकको कारोबारमा सात करोड ५६ लाख ६३ हजार तीन सय ४४ कित्ता सेयर खरिद-बिक्री भएपछि यत्ति रकम कारोबार भएको थियो ।

यो साता पहिलो दिन नेप्से १९.५६ अंकले बढेर २६९८.०३ अंकमा पुगेकामा सेन्सिटिभ इन्डेक्स पनि ३.५४ अंकले बढेर ४५३.४२ अंकमा पुगेको थियो । दोस्रो दिन पनि नेप्से २९.८७ अंकले बढेर २७२७.९१ अंकमा पुगेकामा सेन्सिटिभ इन्डेक्स पनि ६.२८ अंकले बढेर ४५९.७० अंकमा पुगेको थियो ।

तेस्रो कारोबार दिन नेप्से १२.६८ अंकले बढेर २७४०.५९ अंकमा पुगेकामा सेन्सिटिभ इन्डेक्स ०.१७ अंकले बढेर ४५९.८८ अंकमा पुगेको थियो । पाँचौं दिन नेप्से ३.१४ अंकले बढेर २७४३.७४ अंकमा पुगेकामा सेन्सिटिभ इन्डेक्स भने १.९० अंकले घटेर ४५७.९८ अंकमा खुम्चिएको थियो ।

धितोपत्र बजारमा यो साता बढी रकम कारोबार गर्ने कम्पनीको सूचीमा एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेड, नेपाल पुनर्बिमा कम्पनी परेका छन् । सेयर कारोबार भएको संख्याका आधारमा यिनै कम्पनी अगाडि परेका छन् । बजार पुँजीकरणका आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अगाडि छन् ।