
कोसी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यत: सफा रहेको छ । तराईका थोरै भू-भागहरुमा हुस्सु/कुहिरो लागेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको नियमित बुलेटिनअनुसार देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।
महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुका साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।
आज (शुक्रबार) दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणत: बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू-भागका थोरे स्थानमा हल्का वर्षाको सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।
शुक्रबार राति देशका पहाडी भू-भागमा आंशिक देखि साधारणत: बदली रहि बाँकी भू-भागमा मौसम सफा रहनेछ । कोसी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।
महाशाखाले बिहानीपख तराईका थोरै भू-भागमा हुस्सु/कुहिरो लाग्ने हुनाले यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन सर्वसाधारणमा अपिलसमेत गरेको छ ।