जनकपुर, फागुन १० :

मधेस सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले सिरहाका रिंकु सदा हत्या प्रकरणमा अनुसन्धान गर्न गठित छानबिन समितिको अनुसन्धान प्रगति विवरण सार्वजनिक गरेको छ ।

गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले पत्रकार सम्मेलनमार्फत उक्त विवरण सार्वजनिक गरेका हुन् । मन्त्री लेखीले सार्वजनिक गरेको विवरणअनुसार सिरहाको नवराजपुर गाउँपालिका १, भगवतीपुर तामासुइया टोलकी १७ वर्षीया किशोरी रिंकुकुमारी सदाको मृत्यु प्रकरणमा पूरक जाहेरी परेको छ ।

यसअघि स्थानीय युवक रुपेश मण्डलविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी दिइएको थियो । हाल परिवारले थप व्यक्तिहरूलाई प्रतिवादी बनाउँदै बलात्कारको कसुरमा अनुसन्धान गर्नुपर्ने माग गर्दै पूरक जाहेरी दर्ता गराएको छ ।

प्रहरीका अनुसार जाहेरी दर्ता भइसकेको छ र अनुसन्धान प्रक्रिया जारी छ । रिंकुकुमारी ३० माघको राति ७ बजेतिर आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् ।