काठमाडाैं, फागुन ११ :

गृहमन्त्री रमेश लेखकले लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुने बताउँदै संविधानको रक्षा आवश्यक रहेको धारणा राखेका छन्।

काठमाडौंमा शनिबार आयोजित सुदूरपश्चिम कानुन समाजको प्रथम अधिवेशनमा बोल्दै उनले संविधानमाथि हुने आक्रमणको डटेर सामना गर्नुपर्ने उल्लेख गरे।

गृहमन्त्री लेखकका अनुसार, संविधानले लोकतन्त्रलाई सुनिश्चित गरिसकेको हुँदा यसको विकल्प खोज्ने प्रयासले मुलुकलाई संकटमा धकेल्ने चेतावनी दिए। उनले संविधानको रक्षा, लोकतन्त्रको सुदृढीकरण र समावेशिता मजबुत बनाउने आजको आवश्यकता रहेको बताए।

संविधान कार्यान्वयनका क्रममा देखिएका सबल-दुर्बल पक्षको समीक्षा गर्दै संविधान संशोधनको तयारी भइरहेको जानकारी दिँदै उनले संशोधन गर्दा संसदीय सर्वोच्चताको सुनिश्चितता आवश्यक रहेकोमा जोड दिए।

उनले कानुन र नीतिगत सुधार सरकारको प्राथमिकता भएको बताउँदै राज्यका सबै अङ्गमा सुदूरपश्चिम क्षेत्रको उचित प्रतिनिधित्व गराउन सरकार लागिपरेको स्पष्ट पारे।